सहकारी संस्थाले लिने ब्याजदरमा लाग्यो लगाम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारी संस्थाले लिने ब्याजदरमा लाग्यो लगाम



काठमाडौं । सरकारले सहकारी संस्थाले लिने ब्याजदरको सीमा तोकिदिएको छ ।

सहकारी संस्थाले जथाभावी ब्याज असुली गरिरहेको भन्ने गुनासो आइरहेको बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सहकारी संस्थाका लागि ब्याजदरको सीमा तोकिदिएको हो ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिस अनुसार सहकारी संस्थाको पनि कर्जाको व्याजदर १६ प्रतिशत भन्दा बढी लिन नपाउने निर्णय गरिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पाण्डेले साउन १९ गते आइतबारबाट लागु हुने निर्णयमा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने व्यवस्था गरिएको प्रष्ट पार्नुभयो । सरकारले सहकारी संस्थाको व्याजदर निर्धारणका लागि रजिष्ट्रार पाण्डेको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो ।

सहकारी विभागले सहकारी क्षेत्रको सुशासनका लागि आवश्यक कार्यविधि र निर्देशिका बनाउने कार्यलाई अघि बढाइएको जनाएको छ । विभागका रजिष्ट्रार पाण्डेले सहकारी क्षेत्रको सुशासनका लागि कार्यविधि र निर्देशिका आवश्यक रहेको प्रष्ट पार्नुभयो।

प्रकाशित : १७ श्रावण २०७६, शुक्रबार १८:२६