यू-१९ एसिया कपः नेपाल फाइनल प्रवेश, मलेसिया सात विकेटले पराजित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

यू-१९ एसिया कपः नेपाल फाइनल प्रवेश, मलेसिया सात विकेटले पराजित



काठमाडाैँ । नेपालको क्रिकेट टोली एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ । सोमबार आयोजक मलेसियालाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो ।

८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई ४०.५ ओभरमा ८७ रनमा सिमित गर्यो । किनरारा ओभलमा आयोजना भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

मलेसियाको ब्याटिङलाई ध्वस्त गर्ने क्रममा सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लले २ विकेट लिए । ढकालले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १६ रन खर्चेर तीन विकेट लिन सफल भए । मल्लले ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेर दुई विकेट लिए ।

नेपालको जितमा भीम सार्की र रोहित कुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे । सार्की ३३ रनमा नट आउट रहँदा रोहित ३१ रनमा नट आउट रहे । पवन शर्राफ १८ रनमा आउट हुँदा रित गौतम ३ रनमा पेभेलियन फर्किए ।

तिलक राज भण्डारी, रसिद खान र कमल सिंह ऐरीले १–१ विकेट लिए । मलेसियाका लागि मोहमद अमिरले सर्वाधिक २४ रनको योगदान दिए ।

जीतका लागि ८८ रनको झिनो लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १५.५ ओभरमा ३ विकेट गुमाएर पछ्यायो । कप्तान रोहित कुमार पौडेलले ३१ रनको योगदान दिए । यसक्रममा उनले पनि समान २ चौका र १ छक्का हिर्काए । ओपनर पवन सर्राफले १८ रन बनाए ।

नेपालको सानदार बलिङ आक्रमण समूह मलेसियाका ब्याट्सम्यानहरुले सुस्त प्रदर्शन गर्न बाध्य भएका थिए । उनीहरुले लामो साझेदारी गर्न सकेनन् भने कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्नै सकेनन् ।

मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंकको रन छुन सके । तेस्रो नम्बरमा मुहम्मद अमिरले बनाएको २४ रनै मलेसियाको पारीमा सर्वाधिक व्यक्तिगत स्कोर हो । वान अमिरुल ११, हइकल मोहद खइर १२ र अहमद अलिफले १० रन जोडेर आउट भए ।

नेपाल प्रतियोगिताको साविक विजेता हो । अब नेपालले हङकङ र सिङ्गापुरको विजेतासँग भिड्नेछ । फाइनल खेल मंगलबार हुनेछ । उपाधि विजेता टिम यू-१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : २३ असार २०७६, सोमबार १२:१९