विद्युतीय माध्यम र बैंकिङ कारोबारसँग सम्बन्धित अपराध ह्वात्तै बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विद्युतीय माध्यम र बैंकिङ कारोबारसँग सम्बन्धित अपराध ह्वात्तै बढ्यो



काठमाडाै । उपत्यकाभित्र अपराधको ‘ट्रेन्ड’ बदलिएको प्रहरीको पछिल्लो तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गुन्डागर्दी घटेका छन् भने विद्युतीय माध्यम र बैंकिङ कारोबारसँग सम्बन्धित अपराध ह्वात्तै बढेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पाँच वर्षअघि ०७१/७२ मा उपत्यकाभित्र बैंकिङ कसुरसँग सम्बन्धित १७ मात्रै मुद्दा दर्ता भएका थिए ।

तर, चालू वर्षको वैशाख मसान्तसम्म मात्रै यस्ता एक हजार सात सय ५८ मुद्दा दर्ता भएका छन् । त्यस्तै विद्युतीय कारोबारसँग सम्बन्धित मुद्दा पाँच वर्षअघि २८ वटा मात्रै दर्ता भएकोमा अहिले पाँच गुणा बढेर एक सय २१ पुगेको छ ।

गुन्डागर्दी तथा व्यक्ति अपहरणका घटना भने ठप्पजस्तै भएका छन् । पाँच वर्षयता व्यक्ति अपहरणका कुनै पनि मुद्दा दर्ता नभएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । संगठित प्रकृतिका अपराधको उजुरी पनि शून्यमा झरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले उपत्यकाभित्र अपराधको ‘ट्रेन्ड’ बदलिएको बताए । उनले भने, ‘उपत्यकाभित्र विगतमा गुन्डागर्दीका अनेक घटना हुन्थे । प्रहरीको ठूलो शक्ति गुन्डागर्दी नियन्त्रणमा खर्च हुन्थ्यो । तर, अहिले त्यो ट्रेन्ड बदलिएको छ । अहिले प्रहरीको ठूलो शक्ति आर्थिक तथा विद्युतीय अपराधसँग सम्बन्धित अपराध अनुसन्धानमा लाग्नुपर्ने स्थिति छ । चेक बाउन्स तथा सामाजिक सञ्जालमार्फत हुने अपराधका मुद्दा बढी छन् ।’

प्रकाशित : २३ जेष्ठ २०७६, बिहीबार ०८:१६