उदयपुरको बेल्टार बजारमा होटल चौदण्डी दरबार तथा पार्टी प्यालेस सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

उदयपुरको बेल्टार बजारमा होटल चौदण्डी दरबार तथा पार्टी प्यालेस सञ्चालन



उदयपुर / उदयपुरको बेल्टार बजारमा स्थापना गरिएको होटल चौदण्डी दरबार एण्ड पार्टी प्यालेसले व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । स्थानीय युवाहरु विनोद सेढाई र किशोरकुमार कार्कीले उक्त पार्टी प्यालेस तथा होटल सञ्चालनमा ल्याएका हुन । उक्त पार्टी प्यालेस तथा होटलमा करिब १ करोड ५० लाख रूपैयाँको लगानीमा निर्माण सम्पन्न भएको सञ्चालकद्वयले जानकारी दिएका छन् ।

विवाह, ब्रतबन्ध, जन्मदिन लगायत कुनै पनि किसिमको पार्टीको आयोजना गर्न सकिने पार्टी प्यालेसमा तालिम, सेमिनार आदी सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ । उक्त पार्टी प्यालेसमा ३०० र १०० जना अटाउने क्षमताको दुईवटा एसी सहितका हलहरू रहेका सञ्चालकद्वयले जानकारी दिए ।

उक्त पार्टी प्यालेसको कम्पाउण्ड आसपासमा हरियाली गार्डेन, गार्डेन फाउण्टेनको व्यवस्था गरिएको छ । विवाह ब्रतबन्धको लागि आवश्यक पर्ने मण्डप समेतको सोही कम्पाउण्डमा व्यवस्था गरिएको छ । त्यसैगरी विबाहपश्चात नवदुलाहा दुलहीलाई दर्शनको लागि कम्पाउण्ड भित्रै मन्दिरको व्यवस्था गरिएको छ ।

पार्टी प्यालेसले स्वस्थबद्र्धक र स्वादिष्ट खानपिनका साथै रेष्टुरेण्ट र बारको पनि व्यवस्था रहेको छ । त्यसैगरी फूल एसी र एट्याच बाथरूम सहित लजको व्यवस्था समेत रहेको छ । ग्राहकको माग र आवश्यकता बमोजिम रूम तथा सेवाहरू थप्दै लैजाने योजना रहेको सञ्चालकहरुले जानकारी दिएका छन् ।

उत्कृष्ट सेवा, स्वागत र सत्कारले ग्राहक, उपभोक्ताको मन जित्ने दाबी होटल तथा पार्टी प्यालेसका सञ्चालकद्वयले गरेका छन् । पार्टी सञ्चालन नभएको अवस्थामा होटल, रेष्टुरेण्टको सेवा हुने उनीहरुले जानकारी दिए । स्थानीय वाहेकका पर्यटकहरुलाई आकर्षित गर्न स्थानीय स्पेशल परिकारका साथै विशेष खानाको विशेष परिकारका प्याकेज समेत ल्याउने तयारी गरिरहेको उक्त होटल तथा पार्टी प्यालेसले जानकारी दिएको छ ।

स्मरणीय छ यो पार्टी प्यालेस सो क्षेत्रकै एकमात्र पार्टी प्यालेस हो । यसले उदयपुरको पूर्वी भेग बेल्टारको अतिरिक्त बर्खेडाँडा, बसाहा, भुल्के, सातधारे, ज्यामिरे, बेलि, सुन्दरपुर, भिमाहा, हडिया, चौदण्डीगढी रामपुरका साथै छिमेकी पहाडी जिल्ला खोटाङका विभिन्न स्थानलाई समेत सेवा लक्षित गरेको छ ।

प्रकाशित : २० माघ २०७५, आईतवार १६:२७