काठमाडौं / युनिभर्सल पावर कम्पनीले आइतबार (अाज ) देखि २१ लाख ३५० कित्ता आइपीओ खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । सिटिजन्स बैंक, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंक तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट आइपीओ भर्न सकिन्छ । यस्तै, सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ ।
युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष छ । युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
Comment