हाम्रो एकिकृत साकोसको प्रथम बार्षिक साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हाम्रो एकिकृत साकोसको प्रथम बार्षिक साधारणसभा



काठमाडाै । काठमाडौंका ५ बचत तथा ऋण सहकारी संस्था एकीकरण भई बनेको हाम्रो एकिकृत बचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक साधारणसभा पौष ७ गते काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंमा सञ्चालित आमा साकोस, सहभागिता साकोस, शिक्षा साकोस, पिसल्याण्ड साकोस र जिविकोपार्जन साकोस २०७४ माघ ११ गते एकीकरण भई हाम्रो एकिकृत साकोसबाट एकिकृत कारोबार गर्दै आईरहेका छन् ।

एकिकरण पछिको प्रथम बार्षिक साधारणसभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले गर्नुभएको थियो । साधरणसभा उद्घाटन सत्रलाई संवोधन गर्दै प्रमुख अतिथि बस्नेतले सहकारीलाई व्यवस्थित र सुशासित बनाउन एकीकरण आवश्यक छ, नेफ्स्कूनले अव बचत तथा ऋण सहकारीको संख्यात्मक बृद्धि होइन गुणात्मक विकासका लागि काम गरिरहेको छ । उहाँले भन्नुभयो, अब प्रत्येक साकोस नेफ्स्कूनले सञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा अनिवार्य सहभागी हुनुपर्छ, यदि कुनै साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रममा आउन चाँहदैन भने त्यसमा संघसँगको आबद्धता पनि रहँदैन ।

हाम्रो एकिकृत साकोसका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न साधारणसभा समारोहका विशेष अतिथिमा राष्ट्रिय सहकारी बैकका निवर्तमान प्रबन्ध सञ्चालक के.बी. उप्रेती, अतिथिहरुमा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई, उपाध्यक्ष ज्ञानबहादुर तामाङ, कास्कुनका अध्यक्ष केशव दंगाल, राष्ट्रिय सहकारी हकहित समाजका अध्यक्ष अर्जुन खतिवडा लगायत सहकारी क्षेत्रका व्यक्तिहरु र संस्थाका शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित : ९ पुष २०७५, सोमबार १०:०९