काठमाडौं । ‘केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार–२०७५’ बाट पत्रकारद्वय मोहन मैनाली र माया पकुवाल सम्मानित भएका छन् । कान्तिपुर सिटी कलेज(केसीसी)ले पत्रकारद्वय मैनाली र पकुवाललाई सम्मान गरेको हो ।
सम्मानित पत्रकार मैनालीले विगत २८ वर्षदेखि वातावरण, ग्रामीण क्षेत्रमा अनुसन्धानमूलक समाचार संकलन गर्नुका साथै सञ्चार माध्यमका तालिम समेत दिने गरेका छन् । पत्रकार पकुवाल झापा झापाबाट प्रकाशित बरुण साप्ताहिक प्रधान सम्पादक हुन् । मिगौला पीडित पकुवालको केहीसमय अघि मात्र सफल शल्यक्रिया भएको थियो ।
कलेजमा आयोजित सम्मान कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदादेवी तिम्सिनाले पुरस्कृतहरू उत्कृष्ट भएको बताइन । सूचनाको हक सबैले प्रयोग गर्नुपर्ने बताए छ । पत्रकार महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता आफैमा सुधार हुनुपर्ने पक्षहरू भएता पनि नयाँ आएका कानूनी व्यवस्थाले पत्रकारहरूलाई सशङ्कित बनाएको बताए ।
यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले प्रेसलाई जिम्मेवार बनाउन अघि बढ्नुपर्ने र कानूनले यसलाई सहयोग गर्नुपर्ने बताए । कलेजले नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक अभ्यासमा लाग्दै देश र जनताको सेवामा महत्वपूर्ण योगदान र्पुयाउने दुईजना क्रियाशील पत्रकारलाई सम्मान गर्ने लक्ष्यका साथ यो पुरस्कार स्थापना गरिएको हो ।
सन् २००१ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर विषयमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज पत्रकारितामा स्नातकोत्तर शिक्षणमा अग्रणी मध्ये हो । यस क्रममा पत्रकारिताका तीन सय ५० भन्दा बढी विद्यार्थीहरू देश–विदेशमा प्रतिष्ठित सञ्चार माध्यम तथा विश्वविद्यालयमा कार्यरत छन् ।
कार्यक्रममा केसीसी मिडिया जर्नल अङ्क २ को विमोचन गरियो । जनार्दन विष्टको सम्पादन, राजीव तिमल्सिनाको संयोजकत्व तथा आभास धरानन्द राजोपाध्यायको सह–सम्पादन रहेको उक्त जर्नल कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागले प्रकाशन गरेको हो ।पत्रकारका लागि आत्मनिरीक्षणसम्बन्धी प्रा। रामकृष्ण रेग्मी, टिभी कार्यक्रममा मानवीय भावना विरुद्ध जनजाति भावनाबारे डा। भानुभक्त आचार्य, मिडियाले अभियुक्तलाई अपराधी लेखिदिनेबारे डा। दीपेश केसी, सूचनाको हकको अडिटबारे एकराज पाठक, भूकम्पपछि रेडियो भूमिकाबारे जनार्दन विष्ट, धरहरा र काष्ठमण्डपबारे कभरेजले दिएको मिडियाको शिक्षाबारे आभास धरानन्द राजोपाध्याय, विकास पत्रकारिताबारे सुजिना शाक्य र मोदीको भ्रमणसँगै नेपाल–भारत सम्बन्धबारे राजेश कुमार पाठकका नौवटा अनुसन्धानमूलक आलेखहरू उक्त जर्नलमा समावेश छन् ।
कार्यक्रममा कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा पूर्वाञ्चल विश्वविद्यालयबाट ओमप्रकाश गोयल स्वर्ण पदक प्राप्त गर्ने माधव थापा क्षेत्री (२०१५ को स्वर्ण पदक) तथा चिरञ्जीवि देवकोटा (२०१४को स्वर्ण पदक) विजेतालाई सम्मान गरिएको छ । केसीसीले स्थापना गरेको पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।
Comment