तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्ने



काठमाडाै । मलेसियामा सहज रूपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरूले प्रवेश गर्न पाउनेछैनन् ।

बायोमेट्रिक, स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरूले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्नेछैन ।

नेपालीको प्रमुख श्रम गन्तव्य मानिने मलेसिया जाँदा ‘बिचौलिया कम्पनी तथा एजेन्टहरू’ ले कामदारबाट आफूखुसी शुल्क लिएर ठग्दै आएका थिए । जेठ २ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्काल मलेसिया कामदार पठाउन रोक लगाउँदै ठगी गर्ने कम्पनी खारेज र कारबाही प्रक्रिया अघि बढाएका थिए ।

अतिरिक्त शुल्क लिने कम्पनी खारेज गर्दै नेपालले कामदार पठाउन रोकेपछि मलेसिया सरकारले चासो दिएको थियो । त्यसपछि दुई मुलुकबीच सहज रूपमा कामदार आदानप्रदान गर्न भइरहेको अनौपचारिक छलफल करिब निष्कर्षमा पुगेको छ । बिचौलिया एजेन्ट र कम्पनीलाई कामदार पठाउने प्रक्रियामा संलग्न हुन नदिने गरी मलेसिया सरकार श्रमसमझदारी गर्न तयार भएको छ ।

यससम्बन्धी समझदारीको प्रारम्भिक प्रस्ताव मलेसियाले नेपाल सरकारलाई पठाइसकेको श्रम मन्त्रालयका अधिकारीले जनाएका छन् । प्रस्तावमा नेपालले सुझाव दिएपछि समझदारी हुनेछ । समझदारीको तयारीका लागि मलेसियास्थित नेपाली कार्यवाहक राजदूत कुमारराज खरेल स्वदेश आएका छन् ।

मन्त्री विष्टसहित श्रम र परराष्ट्रका अधिकारीबीच छलफल भइरहेको छ । ‘दुईपक्षीय श्रम समस्याबारे छलफल गर्न नै आएको हुँ । अनौपचारिक रूपमा छलफल भइरहेको छ,’ खरेलले भने । नेपालले आफ्नो प्रस्ताव पठाएपछि मलेसियन मानव संसाधनमन्त्री एम कुलसेगरन नै नेपाल आएर समझदारी गर्ने तयारी भएको श्रम मन्त्रालयका अधिकारीले जनाएका छन् । कान्तिपुर दैनिकबाट

प्रकाशित : ८ भाद्र २०७५, शुक्रबार ११:०५