सहयोगी विकास बैंकले हिरो ब्राण्डको दुई चक्के सवारीमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहयोगी विकास बैंकले हिरो ब्राण्डको दुई चक्के सवारीमा लगानी गर्ने



काठमाडाै । सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुई चक्के सवारी साधानमा लगानी गर्ने भएको छ । सो सम्बन्धमा महोत्तरीको बर्दिवासमा रहेको शान्ति अटो इन्टरप्राइजेजसँग संझौता सम्पन्न गरेको छ । शान्ति अटो इन्टरप्राइजेजले बर्दिवासमा हिरो ब्राण्डका मोटरसाइकल विक्री गर्दै आएको छ । संझौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र शान्ति अटो इन्टरप्राइजेजको तर्फबाट प्रोप्राईटर उदिप नारायण महतोले हस्ताक्षर गर्नुभएको थियो । यो संझौता अनुसार शान्ति अटो इन्टरप्राइजेजले विक्री गर्ने हिरो ब्राण्डका दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा लगानी गर्नेछ ।
बैंकले उक्त मोटरसाइकल मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्ने संझौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल विक्रेता कम्पनी शान्ति अटो इन्टरप्राइजेजले समेत सघाउनु पर्नेछ । सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो संझौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिनुभयो । ग्राहकहरुलाई फाइदा होस भन्ने हेतुले बैंकले यस्तै अन्य कम्पनीसँग पनि संझौता गरिसकेको छ । विगत केही समयदेखि सहयोगी विकास बैंकले आफ्नो सेवाको दायरालाई फराकिलो पार्दै लगेको छ ।
यसै क्रममा बैंकले केही समय अघिमात्र मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सर्भिसेस सेवा सुरुवात गरेको थियो । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरू प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रिजालले बताउनुभयो । निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृति उन्नतीका साथै २१औं शताब्दी समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिंदै आएको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिनुभयो । यसैगरी बैंकले आफ्नो भवन निर्माणका अन्तीम प्रकियामा पुगेको जनाएको छ । यसैगरी एटीएम सेवाको पनि अन्तीम चरणमा रहेको जानकारी गराउनु भयो । जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले थप तीन शाखाको सफ्ट लन्च समेत गरिसकेको छ भने भदौ भित्र थप दुई शाखा सञ्चालनमा ल्याइसक्ने जानकारी दिएको छ । असोज सम्ममा १७ शाखा पु¥याउने योजनाका साथ बैंकले काम गरिरहेको छ ।
५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ४ अर्ब ३ करोड ८६ लाख निक्षेप संकलन गरी हालसम्म ३ अर्ब ११ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ । हालै प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानीमा सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको छ । यो तथ्यांकसँगै बैंक अव्वल दर्जामा रहन सफल भएको छ । अहिले बैंकको समग्र अवस्था बलियो रहेको बैंकले जानकारी दिएको छ ।
धनुषा, महोत्तरी र सिन्धुली गरी तीन जिल्लामा कार्यक्षेत्र रहेको बैंकले आफ्नो सेवालाई सर्लाही र सिराहा जिल्लामा विस्तारको तयारी गरिरहेको छ । यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो । स्मयरणीय त के छ भने आफ्नो कार्यक्षेत्र रहेको स्थानीयस्तरमा यो बैंक अन्य वाणिज्य बैंकहरु भन्दा लोकप्रिय बैंकको रुपमा स्थापित छ ।

प्रकाशित : ७ भाद्र २०७५, बिहीबार १३:०२