काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट उर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद शुक्रबार उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीबाट नेपालमा उत्पादन हुने बंगलादेशमा निर्यात हुने बाटो खुलेको छ । समझदारीमा नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समेटिएका छन् ।
समझदारी पत्रमा हस्ताक्षरका क्रममा बंगलादेशका ऊर्जा मन्त्री हमिदले नेपालको अपार सम्भावना रहेको नेपालको जलविद्युतमा बंगलादेशबाट जुनसुकै सहयोग आदान–प्रदान गर्न सकिने उल्लेख गरे ।उनले भारतहुँदै बंगलादेशमा ऊर्जा लैजान भारतीय पक्षसँग छलफल गर्ने समेत बताए ।
ऊर्जा मन्त्री वर्षमान पुनले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा सहकार्यको लागि छलफल अघि बढाइने बताए ।
उर्जा समाझदारीमा हस्ताक्षर गर्ने बंगलादेश तेस्रो मुलुक हो । यसअघि भारत र चीनले पनि यस्तै उर्जा सहकार्य सम्बन्धी सम्झौताहरु भइसकेको छ ।
Comment