बास्कुनामा ‘एफएम भिलेज’ अभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बास्कुनामा ‘एफएम भिलेज’ अभियान



 म्याग्दी ।धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् ।

कृषि पेशामा सम्भावना देखेपछि उनीहरु गाउँ फर्किएका हुन् । बास्कुनाका बासिन्दा अहिले पशुपालन, तरकारी खेती र फलफूल खेती गरी गाउँलाई फलफूल र दूधको गाउँ बनाउन जुटेका छन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न बास्कुना बाहेक अन्य गाउँका बासिन्दा पनि तरकारी खेती तथा पशुपालनमा लागेका छन् । अहिले बास्कुना ‘एफएम’ गाउँका रुपमा चिनिन थालेको छ ।

दुई वर्ष साउदी अरबमा काम गरेर फर्केका तिलक गुरुङले भैँसीपालन, तरकारी खेती र सुन्तला खेतीबाट शुरु गरेको अभियान अहिले गाउँभरि विस्तार भएको स्थानीयवासी श्याम खत्रीले बताउनुभयो । गुरुङले केञ्जन बहुउद्देश्यीय सहकारी संस्था दर्ता गरेर कृषि र पशुपालन गर्दै आउनुभएको छ ।

वैदेशिक रोजगारबाट फर्केका यहाँका युवाले कृषि र पशुपालनबाट वार्षिक रु १२ लाखसम्म कमाइ गर्न थालेका छन् । विदेशमा छ वर्षमा हुने कमाइ यहाँ एक वर्षमा कमाउन सकिने गुरुङ बताउनुहुन्छ । पशुपालन, दुग्ध उत्पादन, तरकारी खेती, फलफूल खेती र पोल्टी फार्म आफूहरुको प्रमुख पेशा भएको उहाँको भनाइ छ ।

छ वर्ष कतारमा बसेर फर्केका मनबहादुर खत्रीले गाउँमै पशुपालन, फलफूल र तरकारी खेती गर्नुभएको छ । उहाँले पाँचवटा उन्नत जातका भैँसीसमेत पालेर मासिक रु ५० हजारसम्म आम्दानी गर्दैआउनुभएको छ ।

पशुपालन, तरकारी खेती र फलफूल खेतीबाट यहाँका बासिन्दाले मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका छन् । बास्कुनाका बासिन्दाले गरेको मेहनत देखेरै अन्य गाउँका बासिन्दा कृषि र पशुपालनतर्फ आकर्षित भएका छन् ।

प्रकाशित : १ असार २०७५, शुक्रबार १३:००