आईएमईको व्यावसायिक यात्रा समाबिष्ट पुस्तक अनावरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आईएमईको व्यावसायिक यात्रा समाबिष्ट पुस्तक अनावरण



काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आईएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार अनावरण गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह, आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले एक कार्यक्रमका बीच संयुक्त रुपमा पुस्तक/भिडियो अनावरण गरेका हुन् ।

कुल ४८ पृष्ठ मोटो पुस्तक र ६ मिनेट लामो भिडियोमा आईएमईको १६ वर्षसम्मको व्यवसायीक यात्रा समेटिएको छ ।

अनावरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जीवी नेपालले आईएमईले तय गरेको सफल व्यावसायिक यात्राको उच्च प्रशंसा गर्दै डिजिटल वित्तीय सेवामा पनि सफलताको कामना गरे ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कृषि बीमाका लागि मौसमसँग सम्बन्धित रही कसरी बीमा सेवा प्रदान गर्न सकिन्छ भन्नेमा अध्ययन भइरहेको जानकारी दिए ।

नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना–प्रविधि र टेलिकमको तीव्रतर परिवर्तन भइरहेकाले डिजिटल वित्तीय सेवालाई पनि त्यसरी नै विकास गर्न सम्भव भएको बताए ।

यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंहले यूएनसीडीएफ विगत तीन दशकदेखि नेपालमा वित्तीय सेवा उपलब्ध गराउन क्रियाशील रहेको जानकारी दिँदै आईएमई डिजिटल वित्तीय सेवाका लागि राजमार्ग भएको बताए ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको केन्द्रीय बैंकले आजभन्दा झण्डै दुई दशकअघि नेपालको नीजि क्षेत्रलाई विश्वासमा लिएर रेमिट्यान्स कारोबार गर्ने साहसिक निर्णय गरेकाले नै आज मुलुकमा झण्डै ८० प्रतिशत रकम औपचारिक सञ्जालबाट ल्याउन सम्भव भएको बताए । डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्न पनि नियमन निकायले त्यस्तै सहासिक निर्णय गर्नुपर्ने भन्दै अध्यक्ष ढकालले राष्ट्र«, व्यवसायिक संस्था र उपभोक्ता सबैलाई हित गर्ने व्यवसाय मात्र दिगो हुने बताए ।

आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले १८ वर्ष लामो आईएमईको व्यवसायिक यात्रा वर्णन गर्दै ‘आईएमई पे’मार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्न आईएमई ग्रुप प्रतिवद्ध रहेको जानकारी दिए ।

आईएमईको व्यवसायिक यात्रा समावेश पुस्तक विभिन्न सरोकारवाला र नियमन निकायमा निःशुल्क वितरण गरिनेछ भने भिडियो युएनसीडीएफ र आईएमईका आधिकारिक युट्युब च्यानल सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ ।

तेहृ हजारभन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आईएमई पे आइएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७५, शनिबार ११:३७