खानेपानीको चरम अभावले गाउँ छाड्न बाध्य स्थानीयवासी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

खानेपानीको चरम अभावले गाउँ छाड्न बाध्य स्थानीयवासी



रामपुर / खानेपानीको चरम अभावका कारण माथागढी गाउँपालिका–५ गोठादी घारीगाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् । खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् । यहाँका करीब ३०० घरपरिवार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् ।

पाँच सय घरपरिवार रहेको यस बस्तीमा एकपछि अर्को गरी बसाइँ सरेर जाँदा अहिले गाउँमा झन्डै २०० घरपरिवार मात्र रहेका छन् । उनीहरु पनि खानेपानीको चरम अभाव र समस्या झेल्दै आएका छन् ।

वर्षौंदेखि खानेपानीको समस्याले सताइरहेको ७६ वर्षीय लालबहादुर सारुले बताउनुभयो । पहिले डाँडाको बस्तीभन्दा तल पानीको स्रोत थियो तर त्यो स्रोत पनि सुक्दै गएपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको उहाँले बताउनुभयो । एक गाग्री पानी लिन झण्डै दुई घण्टा पैदल हिँड्नुपर्छ ।

गाउँमा कमाइ भएकाजति सबै अन्यत्र गएको स्थानीय हुमबहादुर सारु बताउनुहुन्छ । यो क्षेत्र कृषिका लागि अत्यन्त राम्रो छ तर खानेपानीको राम्रो स्रोत नहुँदा स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् ।

बस्तीभन्दा डेढ किलो मिटर तल सानो ट्याङ्की बाँधिएको छ, त्यो पनि अहिले जीर्ण हँुदै गएपछि पानी कम हुँदै गएको छ । बिहान उज्यालो हुन नपाउँदै गाग्री बोकेर पानी खोज्न जानुपर्ने समस्या वर्षेनी हुन्छ, अब त जनप्रतिनिधि गाउँमा आएका छन्, केही हुन्छ कि भन्ने आशा पलाएको पार्वती सारुले बताउनुभयो ।

यहाँ लिफ्टिङ प्रणालीबाट खानेपानीको सुविधा उपभोगका लागि पहिलो चरणमा विद्युत् पोल, ट्रान्सफर्मर, तार जडान, दोस्रो चरणमा पाइपलाइन विस्तार, ट्याङ्की निर्माण, धारा जडान र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा बताउनुहुन्छ ।

कम लगानीमा खानेपानीको व्यवस्थापन गर्न सम्भव नभएकाले अर्को आर्थिक वर्षबाट दोस्रो चरणको कामको थालनी गरिने अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले रु २० लाख रकम विनियोजन गरेर पानीको मुख्य स्रोत नजिकै ट्याङ्की निर्माण गरिएको अध्यक्ष थापा बताउनुहुन्छ ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार १३:१५