सत्ता समर्थन दलकै सांसदबाट बजेटमाथि असन्तुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सत्ता समर्थन दलकै सांसदबाट बजेटमाथि असन्तुष्टि



काठमाडौँ / प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको छलफल जारी छ । बजेटमाथिको छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले बजेटका राम्रा पक्षको समर्थन गर्दै बजेटमा संघीयतालाई कमजोर पार्ने मनसाय घुसेर आएकोमा आलोचना गर्नुभयो ।

प्रदेशमा थोरैमात्र व्यवस्था गरिएको बजेटले संघीयतालाई आत्मसात् गर्न नसकेको टिप्पणी गर्दै उहाँले कम्युनिष्टहरु सत्तामा आएपछि वृद्धभत्ता बढ्छ भन्ने जनतामा आशा रहेको थियो तर पूर्ण बहुमतको सरकार आए पनि वृद्ध भत्ता नबढ्नु दुःखद हो भन्नुभयो । स्थानीयस्तरमा कर्मचारी जान नमानेको अवस्थामा तलब बढ्न नसक्दा मनोबल झन कमजोर हुने उहाँको जिकिर थियो ।

नेकपाकै अर्का सांसद महेश्वरजङ्ग गहतराजले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदलाई व्यवस्था गरिएको रु चार करोड बजेट आवश्यक नभएको भन्दै फिर्ता लिन माग गर्नुभयो ।

बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दुई कम्युनिष्ट दलले निर्वाचनमा देखाएका सपना र दुई दल मिलेपछि के के न हुन्छ भन्नेहरु यतिखेर निराश छन् भन्नुभयो ।

बिरामी हुँदा सिटामोल नपाउने जनताका लागि मोनोरेलका कार्यक्रमले केही गर्न सक्दैन भन्दै उहाँले बजेटले प्राथमकिता तोक्न नसक्नु, संघीयता सुदृढ गर्ने कार्यक्रम अघि बढाउन नसक्नु, केन्द्रमा बढी र प्रदेशमा कम बजेट तोक्नु यसको कमजोरी हो भन्नुभयो ।

प्रधानमन्त्रीको कार्यालयमा मात्र ११ दशमलव ८८ प्रतिशत बजेट छुट्याउने चाहना के हो भनी प्रश्न गर्दै उहाँले प्रधानमन्त्री कार्यालयलाई सल्लाह दिन थिङ्क ट्याङ्कको व्यवस्था गरिए राष्ट्रिय योजना आयोगको के काम के हुन्छ भनी प्रश्न गर्नुभयो ।

प्रकाशित : १८ जेष्ठ २०७५, शुक्रबार १६:५९