धनबहादुर भण्डारी
डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहास तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक महत्वका हतियार हराउँदा किल्ला अवलोकन गर्न आउने पर्यटक निराश बन्ने गर्छन् ।
ऐतिहासिक गौरव बोकेको अमरगढी किल्ला यस क्षेत्रकै मुख्य पर्यटकीय आकर्षणका रुपमा विकास गर्नका किल्लाभित्र रहेको एतिहासिक हातहतियारको खोजी गरिनु पर्ने स्थानीयवासी बताउँछन् । डडेल्धुरा आउने आन्तरिक पर्यटकको पहिलो गन्तव्य किल्ला बन्ने गरेको छ ।
किल्ला हेरेर फर्किसकेपछि इतिहासमा उल्लेख भएजस्तो कुरा नपाएको, नदेखेको उनीहरु बताउँछन् । इतिहासमा उल्लेख भएका सामग्री देख्न नमिलेको दार्चुलाबाट शैक्षिक अवलोकन भ्रमणका लागि किल्ला पुगेको शिक्षकले बताउनुभयो । किल्लाभित्रका हतियार हराउँदा ऐतिहासिक अमरगढी किल्लाको महत्व पनि घट्दै गएको छ ।
देशमा आन्तरिक युद्ध हुनुभन्दा अगाडिसम्म किल्लामा नै हतियार रहेको स्थानीय खलङ्गावासीको भनाइ रहेको छ । सानो छँदा किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोलालगायतका हातहतियार देखेको स्थानीयवासी ३७ वर्षीय गणेशबहादुर मगरले बताउनुभयो ।
सानोमा देखेका हातहतियार अहिले गायब रहेको मगरको भनाइ छ । हाल किल्लामा जीर्ण पर्खालबाहेक अरु हातहतियार गायब रहेका छन् ।
विसं १९४७ मा निर्माण गरिएको अमरगढी किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको इतिहासकारको भनाइ छ । काँकडा र कुमाउको अलमोडामा नेपालको हार भएपश्चात् यो क्षेत्रको सदरमुकाम दिपायल सिलगढी सरेको किंवदन्ती रहेको पाइन्छ । यो किल्ला विशाल ढुङ्गाले कलात्मक तरिकाले निर्माण गरिएको छ । किल्लाभित्र युद्ध गर्नका लागि २२ वटा गुफा रहेका छन् ।
संकटकालपूर्व अमरगढी किल्लामा पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, १०० जति बन्दुक, बम र गोला बारुद बनाउने छुट्टै घर, सैनिक पोशाकलगायतका सामग्री रहेको स्थानीय प्रत्यक्षदर्शीको भनाइ रहेको छ । हातहतियार गायब रहेका छन् भने मर्मतसम्भार हुन नसक्दा किल्ला जीर्ण बन्दै गइरहेको छ । पुरानो गुफा भत्किने अवस्थामा छन् । बडाकाजी अमरसिंह थापा बस्ने घर भत्किएर त्यसलाई पुनःनिर्माण नगरी टिनको नयाँ छाप्रो निर्माण गरिएको छ ।
संकटकालमा अमरगढी किल्लामा सुरक्षार्थ बसेको गोरख दलका सेना सरुवा भएर जाँदा पुराना हतियार पनि आफूसँगै लगेको हुन सक्ने स्थानीयवासीको आशंका रहेको छ । विसं २०५८ देखि २०६६ सम्म यस किल्लामा तत्कालीन सेनाको टुकडी बसेको थियो ।
संकटकालको समयमा किल्लामा गोर्खादल नामको तत्कालीन शाही सेना बसेको स्थानीयवासी ६५ वर्षीय उमा श्रेष्ठले बताउनुभयो । सरुवा भएर जाँदा हतियार पनि सुरक्षाका लागि उनीहरुले नै लगेको हुन सक्ने उमाको भनाइ रहेको छ ।
शान्ति सम्झौतापछि किल्लाको हतियार फिर्ता आउनु पर्ने आएन स्थानीयवासीको गुनासोे छ । त्यसपछि यस किल्लामा सुरक्षाका लागि आउने कुनै पनि सैनिक टुकडीले ती हतियार फिर्ता नल्याएको स्थानीयवासीको भनाइ छ ।
समुद्री सतहबाट करीब छ हजार ५०० फिट उचाइमा अवस्थित अमरगढी किल्ला बडाकाजी अमरसिंह थापाले राज्य विस्तार गर्ने क्रममा निर्माण गरेको स्थानीय जानकारको भनाइ रहेको छ ।
यस क्षेत्रको संरक्षण गर्न अमरसिंह थापाले किल्ला निर्माण गर्न लगाएको इतिहासमा उल्लेख गरिएको छ । त्यसैले यो अमरगढी किल्लाका रुपमा परिचित छ । यसै किल्लाको नामबाट सदरमुकाममा रहेको नगरपालिकाको नामाकरण पनि भएको हो । जुन हाल अमरगढी नगरपालिकाको नामले परिचित रहेको पूर्व नगर प्रमुख मोहनराज पाठकले बताउनुभयो ।
किल्लामा रहेका हातहतियार खोजी गर त्यसमै राख्नु पर्ने स्थानीयवासीको भनाइ छ । हातहतियारको खाजी भई किल्लाभित्र राख्दा यसको महत्व झनै बढ्ने देखिन्छ ।
सम्बन्धित निकायले ती ऐतिहासिक खरखजानाको खोजी गरी किल्लाको महत्व बढाउनु पर्ने स्थानीयवासीको भनाइ छ । यसको संरक्षणमा जुटी साँच्चीकैको पर्यटक आकर्षणको केन्द्र किल्ला बनाउनुपर्ने पर्यटन व्यवसायी तथा स्थानीय समाजसेवी सुदाम थापाले बताउनुभयो ।
नेपालका जीवित किल्लामध्येको पहिलो अमरगढी किल्ला रहेको विज्ञहरूको भनाइ छ । अमरगढी र सिन्धुलीस्थित सिन्धुलीगढीलाई मात्र हालसम्म जीवित किल्लाका रुपमा लिने गरेको छ । किल्लामा ठूला–ठूला ढुङ्गा प्रयोग गरी निर्माण गरिएको छ । यो किल्ला निकै कलात्मक छ ।
किल्ला अवलोकन गर्न आउने सर्वसाधारणबाट रु ५० र विद्यार्थीलाई रु २० प्रवेश शुल्क लिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ ।
डडेल्धुरामा अमरगढी किल्लासँगै उग्रतारा मन्दिर, घटालथान, अजयमेरुकोट, आलिताल, गन्यापधुरा, भागेश्वर मन्दिर, कस्याटाकुरोलगायतका क्षेत्र पनि पर्यटकका लागि धार्मिक तथा ऐतिहासिक गन्तव्य रहेका छन् ।
यी क्षेत्रको प्रवद्र्धन र संवद्र्धन गर्न सके पर्यटकलाई अकर्षित गरी आम्दानीको मुख्य स्रोत बनाउन सकिन्छ । पर्यटक लोभ्याउने अमरगढी किल्ला जस्तै, ऐतिहासिकस्थल अजयमेरुकोट पनि संरक्षणको अभावले जीर्ण बन्दै गएका छन् ।
Comment