स्मार्ट टेलिकम प्रकरणः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्मार्ट टेलिकम प्रकरणः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धानका क्रममा बुधबार उनलाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी रूपमा सरकारको स्वामित्व रहेको सम्पत्ति अर्को कम्पनीलाई बिक्री गर्ने कार्यमा पाण्डेको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

स्मार्ट टेलिकमले सरकारको ७ अर्ब रुपैयाँ (लाइसेन्स दस्तुर बाहेक) राजस्व बक्यौता उठाउन बाँकी रहेको थियो ।

तर, उक्त कम्पनीको सम्पत्ति तथा उपकरण नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत वर्षको असोजमै ४ अर्ब ६० करोड रुपैयाँमा एनसेललाई लिलाम बिक्री गरिएको विषय बाहिर आइरहेको छ ।

२०८२ साउन २३ मा बैंकले स्मार्ट टेलिकमको कर्जा चुक्ता गर्न भन्दै एक राष्ट्रिय स्तरको पत्रिकामा ऋणी सर्वेश जोशीको नाममा ३५ दिने सूचना निकालेको थियो ।

त्यसको जवाफमा स्मार्ट टेलिकमका अध्यक्ष समेत रहेका जोशीले २०८२ भदौ २० मा लिखित रूपमा कम्पनीको सम्पत्ति लिलाम बिक्री गर्न मन्जुरीनामासहित अनुरोध गरेका थिए ।

सोही अनुरूप बैंकले २०८२ असोज ३ मा लिलाम विक्री गर्ने सम्बन्धमा १५ दिने सार्वजनिक सूचना सोही पत्रिकामा निकालेको थियो ।

यसमा पूर्व सञ्चारमन्त्री एवं रास्वपा सांसद जगदीश खरेलको पनि नाम जोडेर चर्चामा आइरहेको छ ।

यहि प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परिसकेका छन् । सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरेको थियो ।

स्मार्टले नवीकरण दस्तुर, फ्रिक्वेन्सी, ग्रामीण दूरसञ्चार विकास कोष, रोयल्टी र जरिवाना गरी करिब ३० अर्ब रुपैयाँ प्राधिकरणलाई बुझाउन नसक्दा उसको लाइसेन्स स्वतः खारेजीमा परेको थियो ।

लाइसेन्स खारेजीमा परेपछि उसले लाइसेन्स जोगाइदिन अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । तर, अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्राधिकरणले स्मार्टको सम्पत्ति आफ्नो स्वामित्वमा ल्याउन मूल्य निर्धारण समिति गठन गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

तर, स्मार्टको लाइसेन्स खारेजीमा गएको लामो समयसम्म पनि मूल्यांकन समिति भने गठन हुन सकेको थिएन । सन् २०१३ मा ‘युनिफाइड लाइसेन्स’ पाएको स्मार्टले २००८ देखि ग्रामीण भेगमा मोबाइल सेवा सुरु गरेको थियो ।

स्मार्ट सेल घोटाला प्रकरणमा यसअघि पलिना श्रेष्ठ र नरेन्द्र उलक समेत पक्राउ परिसकेका छन्। सीआईबीले प्रकरणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित : 13 May, 2026 11:06 am