जिर्ण बन्दै गएको बिपी राजमार्गमा मन्त्री महासेठको मनमरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जिर्ण बन्दै गएको बिपी राजमार्गमा मन्त्री महासेठको मनमरी



काठमाडाै । सरकारले बिपी राजमार्गमा १८ सिटसम्मका सार्वजनिक बस मात्रै चलाउन पाउने निर्णय उल्ट्याएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस अघिको निर्णयलाई उल्ट्याउदै भोलिदेखि बिपी राजमार्गमा ठूला गाडी चल्न दिने निर्णय गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीले बिपी राजमार्गमा ठुला गाडी चलाउन पाउने मागलाई पुरा गर्दै यस्तो व्यवस्था गरेका हुन। भोलिदेखि बीपी राजमार्गमा ड्राइभर सहित ३२ सिट क्षमता भएका ठूला गाडीका लागि रुट इजाजत दिन लागको हो ।

महोतरी, धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई जोड्ने वीपी राजमार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो। जटिल भौगोलिक संरचनामा निर्माण गरिएको वीपी राजमार्गमा सरकारले १८ सिट क्षमता भएका गाडीलाई मात्र रुट इजाजत दिने गरेको थियो ।

सरकारले विहान र बेलुकागरी २ सिफ्टमा गाडी चलाउनेगरी बीपी राजमार्गमा रुट इजाजत दिने भएको छ । बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म यात्रु बहाक बस र बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म माल बहाक ढुवानीका साधानलाई रुट इजाजत दिइने भएको हो ।

बीपी राजमार्गलाई चार खण्डमा बिभाजन गरी सन् १९९६ (बि.सं.२०५२) सालदेखि निर्माण सुरु गरिएको थियो । जस अन्तर्गत पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ कि.मि., दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३६.५ किमि सडक, तेस्रो खण्ड खुर्कोट –नेपालथोक ३६.५ किमि र चौथो खण्ड नेपालथोक–धुलीखेल ५० किमि सडक निर्माण सम्पन्न गरिएको थियो ।

जटिल भौगोलिक संरचना तथा सडकको चौडाइ ४ मिटर मात्र भएकाले राजमार्गमा साना सवारी र १० टन क्षमता भएका सवारीलाई मात्र रुट इजाजत दिने गरिएको थियो।

निर्णयको चौतर्फी आलोचना

बिपी राजमार्गमा १६ सिटसम्मका सवारी मात्रै यो सडकमा गुड्न सक्ने अध्ययनले देखाएको भन्दै बिगतमा माइक्रो समेत गुड्न नपाउने स्तिथि थियो। तर पछी व्यवसायीको दबाबमा यसलाई १८ सिटसम्मका गाडी चलाउन पाउने बनाइएको थियो।

यातायात व्यवसायीको दबाबमा नै मन्त्री महासेठले बिपी राजमार्ग जस्तो साँघुरो र जोखिमले भरिएको राजमार्गमा ठुला गाडी चल्न दिने निर्णय प्रति सर्वसाधारणले बिरोध गरेका छन। जिर्ण बन्दै गएको बिपी राजमार्गमा ३२ सिट क्षमता भएका ठूला गाडीका लागि रुट इजाजत दिने निर्णय हानिकारक भएको सर्वसाधारणको गुनासो छ। दुर्घटना र पहिरोको राजमार्ग बन्न सक्ने उनीहरुको चिन्ता छ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार ०८:१८