अछाम ।विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ ।
विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो ।
समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थल साँफेबगर विमानस्थलमा अवतरण भएको थियो । विमानका चालक एडी शेर्पाले उडानका लागि साँफेबगर विमानस्थल निकै उपयुक्त विमानस्थल रहेको प्रतिक्रया दिनुभएको छ ।
‘यो विमानस्थल उडानका लागि उपयुक्त छ उहाँले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई दिनमा प्रतिवेदन बुझाउने छु । यदि सम्झौता भए यही विमान यहाँ उडान भर्न तयार छ ।”
तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ्चालन आए पनि पुन २०६२ सालदेखि पूर्णरूपमा बन्द विमानस्थल गौचरनमा परिणत भएको थियो ।
निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पूरा भएको बताएको छ । विमानस्थलको ५५० मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरिएको छ । विमानस्थलको भ्याटसहित रु ११ करोड ५० लाखको लागतमा कालोपत्रे भएको हो ।
साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले विमानस्थल सञ्चालनमा आएपछि जनतामा निकै उत्साह र आशा पलाएको बताउनुभयो ।
‘आज अछामी जनताको लागि निकै खुशीको दिन हो उहाँले भन्नुभयो, “अब हप्तामा दुई वा तीन उडान भर्नका लागि पहल गर्ने छु । न्यूनतम् टिकटमा यहाँका जनतालाई सेवा उपलब्ध गराउने प्रयासमा छु ।”
पहाडी क्षेत्रका विमानस्थलमध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ । प्रदेश नं ७ को दुईवटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो ।
अछामको मुख्य व्यापारिक केन्द्र साफेबगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल छन् । जिल्लामा दुईवटा विमानस्थल भए पनि कुनै पनि सञ्चालनमा नहुँदा स्थानीयवासीले लाभ लिनसकेका छ्रैनन् ।
Comment