दाङमा १५ जना औलोरोगका बिरामी फेला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दाङमा १५ जना औलोरोगका बिरामी फेला



तुलसीपुर। दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

गत वर्ष भने जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका औलोरोग निरीक्षक कमल चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा औलोरोगका बिरामी घट्दै जानु सकारात्मक रहे पनि तर दाङ जिल्ला औलो रोगको जोखिममा रहेको बताउनुभयो । सो रोग निवारण गर्नका निम्ति जिल्लाका सरोकारवाला निकाय, नागरिक समाज, स्थानीयतहका जनप्रतिनिधि सबैको सहयोग आवश्यक रहेको पनि चन्दले बताउनुभयो ।

सबैको सहयोगले मात्र नेपाललाई सन् २०२५ सम्म औलो निवारण गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्कअनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करीब ५० हजार मानिस प्रभावित हुने गर्छन् । त्यसमध्ये २७ प्रतिशतको ज्यान औलो रोगकै कारण जाने गरेको छ । औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।

प्रकाशित : १४ बैशाख २०७५, शुक्रबार १२:१७