वर्तमान राष्ट्रपति विद्या भण्डारीले दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती रहेका छन् ।
समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।
एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै भण्डारीले शितल निवासको दोश्रो इनिङ पक्का गरेकी हुन् । खनाल यस अघि पनि राष्ट्रपतिका आकांक्षी थिए । भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
यस्तै नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकि छिन् ।
यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन । उनका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले छन् ।
Comment