आठ महिनामा २९ पर्यटक भित्रिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आठ महिनामा २९ पर्यटक भित्रिए



बाजुरा । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ । चालु आवको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । निकुञ्जमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् ।

खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेका निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालु आको सात महिनामा रु दुई लाखभन्दा बढी राजश्व संकलन भएको छ । आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । । बाह्य पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार ३९० का दरले भ्रमण शुल्क लिने गरिएको छ ।

खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जनावरसमेत हेर्न सकिन्छ । यहाँ त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । निकुञ्जको संरक्षणका लागि चारवटा ठाउँमा इलाका कार्यालय रहेको छ ।

खप्तड क्षेत्रमा जेठमा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्छ । जात्रा हेर्नका लागि पर्यटकको घुइँचो लाग्छ ।

चोरी शिकारी रोकिएन

खप्तड राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी शिकारी तथा काठ तस्करी रोकिएको छैन । चोरी निकासीलाई न्यून गर्न खप्तडमा नेपाली सेनाले गस्ती गर्ने गरेको भए पनि वन्यजन्तु र काठ चोरी नरोकिएको सहायक संरक्षण अधिकृत शाहीले बताउनुभयो ।

चारवटा क्षेत्रमा इलाका कार्यालयमार्फत चोरी निकासी रोकथामको प्रयास गरिँदै आएको छ । निकुञ्जमा सिसी क्यामरासमेत जडान गरिएको छ । निकुञ्जभित्र रहेका जनावरको अवस्था र उनीहरुको अध्ययन तथा अवलोकन गर्नका लागि सिसी क्यामरा निकै सहयोगी बनेको छ ।

निकुञ्जभित्र रहेका बाघ, चितुवा, मृग, घोरललगायत जनावरको चोरी शिकारी तथा उक्त क्षेत्रमा रहेका काठ तस्करी रोकथामका लागि २४ वटा सिसी क्यामरा जडान गरिएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार १३:३७