तलबबाट १ प्रतिशत कटाएर जम्मा भएको १७ अर्ब प्रयोग विहिन ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तलबबाट १ प्रतिशत कटाएर जम्मा भएको १७ अर्ब प्रयोग विहिन !



काठमाडौँ । सरकारले सरकारी तथा निजी संस्थाका कर्मचारीको तलबबाट मासिक १ प्रतिशत करकट्टी गरी जम्मा पारेको १६ अर्ब ७९ करोड रुपैयाँ आठ वर्ष देखि सामाजिक सुरक्षा कोषमा थन्किएको छ । कर्मचारीलाई विभिन्न सेवासुविधा प्रदान गर्ने योजना सहित श्रम तथा रोजगार मन्त्रालय मातहत कोष नै खडा गरेर ०६६ साल देखि उठाइएको अर्बौं रकम प्रयोगविहीन भएको हो । कोषमा योगदान गर्ने कर्मचारीका लागि विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताइए पनि कोषले त्यस अनुसार एउटै काम गरेको छैन ।

कोषका अनुसार सरकारका सबै निकाय, व्यावसायिक प्रतिष्ठान, प्राइभेट फर्म, कम्पनी, गैरसरकारी संघसंस्था आदि गरी ३० हजार भन्दा बढी निकायका कर्मचारीबाट रकम संकलन भइरहेको छ । कर्मचारीबाट कर बापत कट्टा गरिएको उक्त रकम सम्बन्धित निकायले अर्थ मन्त्रालयको राजस्व शीर्षक नं. ११२११ मा जम्मा गर्ने गरेका छन् ।

कोषका अनुसार आर्थिक वर्ष ०६६,६७ देखि रकम संकलन गर्न थालिएको थियो । आव ०७३,७४ सम्म १६ अर्ब ७९ करोड रकम जम्मा भएको कोष सचिवालयले जनाएको छ । कोषमा रकम जम्मा गर्ने सयौं कर्मचारीले रकम किन परिचालन नभएको हो भन्दै चासो राख्न थालेको कोषकी शाखा अधिकृत प्रमिला केसीले जानकारी दिइन् ।
अन्नपूर्णबाट

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार १०:४४