कृषकको आम्दानी बढाउन सहकारी मन्त्रालय र युएनडीपीबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषकको आम्दानी बढाउन सहकारी मन्त्रालय र युएनडीपीबीच सम्झौता



काठमाडौ। सहकारी बजारहरुमार्फत् उत्पादन विकास र प्रवद्र्धन गरी कृषकहरुको आम्दानी बढाउन सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच सम्झौता भएको छ । सहकारी बजार विकास कार्यक्रमले खासगरी फलफूल र तरकारीको बजार विस्तार गरी किसानको आम्दानी वृद्धि गर्ने तथा जीवनस्तर उकास्ने अन्य अवसर प्रदान गर्ने बताइएको छ ।

सहकारी मन्त्रालयका सहसचिव रघुराम विष्ट र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का राट्रिय निर्देशक रेनुड मेयरबीच भएको सम्झौतामा मन्त्रालय र युनडीपीका तर्फबाट क्रमशः ५० लाख र २० लाख डलरको संयुक्त लगानीमा ६ जिल्लामा सहकारी बजार प्रवद्र्धन गर्ने सहमति भएको छ । पाँच वर्षे यस कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका आसपासका जिल्लाहरु धादिङ, नुवाकोट, काभ्रे, ललितपुर, मकवानपुर र चितवन छनौट भएका छन् ।

यस कार्यक्रमले यी जिल्लाहरुमा फलफूल र तरकारी उत्पादनका लागि गुणस्तर, संख्या र दीगोपनमा जोड दिनेछ । कार्यक्रम अन्तर्गत पूर्वाधार विकास, कृषि प्रविधिका सम्बन्धमा तालिम र सहयोग, बजारीकरण तथा संस्थागत क्षमता विकासमा काम गरिने बताइएको छ ।

प्रकाशित : २१ माघ २०७४, आईतवार २१:४२