काठमाडौं । एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धि तथा सामाजिक लाञ्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व एड्स दिवसका अवसरमा सांगीतिक कन्सर्ट आयोजना गर्ने भएको छ ।
एएचएफ नेपालले आगामी डिसेम्बर १ अर्थात् विश्व एड्स दिवसका दिन ‘विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६’ आयोजना गर्न लागेको हो । कन्सर्टबारे जानकारी दिन संस्थाले मंगलबार काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा एएचएफ नेपालका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले कन्सर्टको उद्देश्य, महत्व र एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धिमा यसले पुर्याउने योगदानबारे जानकारी गराएका थिए ।
एएचएफ नेपालका अनुसार कन्सर्टले संगीत र मनोरञ्जनलाई सामाजिक सन्देशसँग जोड्दै एचआईभी/एड्सबारे खुला संवाद र जनचेतना अभिवृद्धिका लागि प्रभावकारी मञ्च प्रदान गर्नेछ । सांगीतिक प्रस्तुतिसँगै कार्यक्रममार्फत समयमै एचआईभी परीक्षण गर्न प्रोत्साहित गर्ने, उपचारको महत्वबारे जानकारी फैलाउने तथा एचआईभी संक्रमित व्यक्तिहरूका लागि सहयोगी र सम्मानजनक वातावरण निर्माणमा जोड दिइनेछ ।
कन्सर्टमा सहभागी हुन इच्छुक व्यक्तिहरूले खल्ती एपमार्फत निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । सहज दर्ता प्रक्रियामार्फत बढीभन्दा बढी सहभागीलाई संगीत, जनचेतना र ऐक्यबद्धताको अभियानमा जोड्ने आयोजकको अपेक्षा छ ।
एचआईभी/एड्ससँग जोडिएका सामाजिक लाञ्छना र भेदभावविरुद्ध सामूहिक रूपमा आवाज उठाउनुपर्ने आवश्यकतालाई पनि कार्यक्रमले प्राथमिकता दिनेछ । संगीत, जनसहभागिता र चेतनामूलक गतिविधिमार्फत गलत धारणाहरू हटाउने, खुला संवादलाई प्रोत्साहन गर्ने तथा सुसूचित र समावेशी समाज निर्माणमा योगदान पुर्याउने एएचएफ नेपालको लक्ष्य छ ।
कन्सर्टमा कलाकार, दर्शक र आम समुदायलाई एकै ठाउँमा ल्याएर मनोरञ्जनसँगै सामाजिक पैरवी र जनचेतनाको सन्देश प्रवाह गरिनेछ ।
कार्यक्रमको व्यवस्थापन तथा सञ्चार समन्वय मार्स एडभर्टाइजिङ एन्ड रिसर्च प्रा.लि.ले गरेको छ।






प्रतिक्रिया