एनआईएमबी अध्यक्ष पाँडे धरौटीमा रिहा, स्मार्ट टेलिकम प्रकरणमा कानुनीप्रक्रिया पूरा गरेको दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईएमबी अध्यक्ष पाँडे धरौटीमा रिहा, स्मार्ट टेलिकम प्रकरणमा कानुनीप्रक्रिया पूरा गरेको दाबी



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले तोकेको ४० लाख रुपैयाँ धरौटी बुझाएपछि पाँडे रिहा भएका हुन् । उनीविरुद्ध गत साउन २७ गते ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर भएको थियो ।

अदालतमा पाँडेले दिएको बयानअनुसार स्मार्ट टेलिकमले बैंकबाट लिएको ऋण रकम भुक्तानी नगरेपछि बैंकले कर्जा असुलीका लागि धितोमा रहेको स्मार्ट टेलिकमको सामान कानुनीप्रक्रिया अनुसार नै लिलाम गरेको हो ।

पाँडेले अदालतमा बयान दिँदै आफूले स्मार्ट टेलिकमको सामान व्यक्तिगत रूपमा कब्जा वा दुरुपयोग नगरेको, बैंकको लिनुपर्ने रकम असुलीका लागि लिलाम प्रक्रियामार्फत रकम असुल गरिएको बताएका छन् । अदालतको आदेशमा समेत पाँडेले स्मार्ट टेलिकमको सामान लिलाम गरी बैंकको लेना रकम असुल गरेको भनी बयान दिएको उल्लेख छ ।

यस प्रकरणमा मुख्य विवाद नै बैंकले ऋण असुलीका लागि धितोमा रहेको सम्पत्ति लिलाम गरेको प्रक्रियालाई आपराधिक कसुरका रूपमा व्याख्या गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा केन्द्रित देखिन्छ । बैंकिङ कारोबारमा ऋण प्रवाह गर्दा कर्जा सुरक्षणका लागि लिइएको धितोबाट बक्यौता असुल गर्ने प्रक्रिया प्रचलित बैंकिङ अभ्यास मानिन्छ ।

स्मार्ट टेलिकमको हकमा पनि बैंकले आफ्नो कर्जा असुल गर्न धितोमा रहेको उपकरण तथा सामान लिलाम गरेको एनआईएमबीको पक्षको दाबी छ । अर्थात्, विवादको केन्द्रमा रहेको लिलामी पाँडेको व्यक्तिगत निर्णय वा व्यक्तिगत लाभका लागि गरिएको कारोबार नभई बैंकको बक्यौता कर्जा असुलीसँग सम्बन्धित रहेको उनको बयानमा उल्लेख छ ।

प्रकाशित : 8 September, 2026 1:43 pm