काठमाडौं। एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र किफायती रूपमा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ।
साझेदारीअनुसार रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन्। त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिने ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।
मंगलबार आयोजित कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
साझेदारीबारे दत्ताले मोबाइल सेवा प्रयोग गर्ने ग्राहकलाई कनेक्टिभिटीसँगै स्वास्थ्य सेवामा समेत थप लाभ उपलब्ध गराउने उद्देश्यले मेडिसिटीसँग सहकार्य गरिएको बताए। उनका अनुसार निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको सुविधा ग्राहकले प्राप्त गर्नेछन्।
सेवा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ। एपले ग्राहकको योग्यता र उपलब्ध सुविधाको विवरण स्वतः देखाउनेछ। योग्य नदेखिएका ग्राहकले सम्बन्धित प्याक वा रेन्टल सेवा लिएपछि यो सुविधा प्राप्त गर्न सक्नेछन्।
नेपाल मेडिसिटीका सीईओ डा. तोमरले यस्तो सहकार्यले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग पुग्ने बताए।
एनसेलले यो साझेदारीलाई ग्राहकलाई कनेक्टिभिटीभन्दा बाहिर दैनिक जीवनसँग सम्बन्धित थप उपयोगी र अर्थपूर्ण सुविधा उपलब्ध गराउने निरन्तर प्रयासको हिस्सा भएको जनाएको छ।


Comment