काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भएपछि सरकारी स्वामित्वमा आउनुपर्ने उपकरण लिलामी गरी एनसेललाई बिक्री गरेको आरोपसम्बन्धी मुद्दामा अदालतले पाण्डेलाई धरौटीमा छाड्न आदेश दिएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले उक्त आदेश दिएको हो।
स्मार्ट टेलिकमको धितो लिलामी प्रक्रियामा बैंकले गैरकानुनी रूपमा उपकरण बिक्री गरेको आरोपमा पाण्डेसहित अन्यलाई प्रतिवादी बनाइएको थियो। यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४ अर्ब ६० करोड रुपैयाँ बिगो कायम गर्दै ठगी, संगठित अपराध तथा बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो।
पाण्डेलाई यसअघि वैशाख २९ गते पक्राउ गरिएको थियो। पछि सर्वोच्च अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो। जिल्ला अदालतको पछिल्लो आदेशसँगै पाण्डे ८० लाख रुपैयाँ धरौटी बुझाएर मुद्दाको पुर्पक्षका लागि बाहिर रहने भएका छन्।


Comment