लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन हुँदै, सहभागिताका लागि रजिष्ट्रेशन खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

मुख्य समाचार

लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन हुँदै, सहभागिताका लागि रजिष्ट्रेशन खुला

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । ष्ट्रिय सहकारी महासंघको आयोजनामा `अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुने भएको छ । लुम्बिनीमा (मंसिर २४ देखि २६ गते) ३ दिने सम्मेलन गर्न लागिएको महासंघले जनाएको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले दिगो शान्तिका लागि न्याय, समावेशिता, समानता र सबैका लागि आर्थिक अवसर आवश्यक रहेको परिप्रेक्षमा पारस्परिक सहयोग, लोकतान्त्रिक सहभागिता र समानताका सिद्धान्तमा आधारित सहकारी संस्थाहरु शान्ति निर्माण र दिगो विकासका माध्यम भएकाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

सम्मेलनमा सहभागिताको लागि सदस्य संघमार्फत् मुलुकभित्र र मुलुकबाहिरका सहकारीकर्मीहरुलाई अनुरोध गरिएको उनले बताए । सहकारी शान्ति सम्मेलनमा सहभागी हुन स्वदेश तथा विदेशबाट उत्साहपूर्वक रजिष्ट्रेशन भइरहेको उनको भनाई छ । सम्मेलनमा ६ सय ५० जनाको सहभागिता रहने र इच्छुक सहकारीकर्मीहरुलाई छिटो रजिष्ट्रेशन गरी आफ्नो सिट सुरक्षित गर्न उनको आग्रह छ ।

सहकारी शान्ति सम्मेलन भनिए पनि सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा समेत छलफल गरिने हुँदा सम्मेलन फलदायी हुने उनले बताए । मुलुकमा खुलेका केही सहकारी संस्थाले सदस्यको बचतलाई अपचलन गर्दा सिङ्गो सहकारी अभियान माथि नै प्रश्न उठिरहेको सन्दर्भमा यो क्षेत्रको समस्यालाई समाधान गर्ने गरी सम्मेलनले मार्ग प्रशस्त गर्ने अपेक्षा उनको छ ।

अन्तर्राष्ट्रिय जगतमा भएका सहकारीका असल अभ्यासहरुलाई समेत मुलुकमा आन्तरिकीकरण गरी थप सुद्धढ र व्यवस्थित बनाउन सम्मेलनले सघाउने पोखरेलको भनाई छ । सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) का एसिया प्यासिफिकका अध्यक्ष डा. चन्द्रपाल सिंह यादव समेत सहभागी हुने जानकारी गराएको उनले सुनाए । यसले पनि सम्मेलन प्रभावकारी हुने विश्वास आयोजकको रहेको छ । सम्मेलनमा सहकारीको दिगोपन, वित्तीय परिचालनका उपायहरु, स्रोत परिचानल सम्बन्धी प्रस्तुतिकरण, सहकारीका लागि आवश्यक नयाँ टेक्नोलोजीका साथै सहकारी क्षेत्रका विभिन्न आयामहरुका बारेमा छलफल गरी निचोडमा पुग्ने लक्ष्य राखिएको छ । स्थानीय, प्रदेश र संघीय सरकार र अभियानबीच अन्तर संवाद गरी यो क्षेत्रमा देखिएको अन्यौलतालाई समेत सम्मेलनले चिर्ने र नयाँ गति दिने आशा गरिएको छ ।

विज्ञान र प्रविधिमा भएको प्रगतिको बाबजुद पनि विश्वमा गरिबी, असमानता, द्वन्द्व र वातवरणीय क्षय कायम रहेको अवस्थामा यो सम्मेलनले विश्वभर समावेशी आर्थिक वृद्धि, सामाजिक सद्भाव र दिगो विकासलाई बढाउँदै सहकारीको माध्यमबाट विश्वमा शान्ति प्रवर्द्धन गर्न सकारात्मक सन्देश दिने विश्वास लिइएको छ । सम्मेलनमा शान्ति निर्माण र सहकारी, आर्थिक समानता र युवा तथा महिला नेतृत्व, जलवायु तथा दिगोपन, दिगो विकास लक्ष्य तथा डिजिटल रुपान्तरण र विश्वव्यापी साझेदारी जस्ता प्रमुख विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । त्यसैगरी सहकारीमार्फत् शान्तिका लागि आधिकारिक लुम्बिनी घोेषणापत्र, सम्मेलन कार्यवाही प्रतिवेदन, सरकार तथा अन्तर्राष्ट्रिय सहकारी निकायका लागि कार्यान्वयनयोग्य नीति सिफारिस, अन्तर्राष्ट्रिय साझेदारी र युवा सहकार्य सञ्जाल तथा विश्व सहकारी शान्ति मञ्चको स्थापनामा सहयोग पुग्ने अपेक्षा सम्मेलनबाट गरिएको छ । सम्मेलनबाट अल्पाकालिन, मध्यकालिन र दीर्घकालिन नतिजा प्राप्त हुने महासंघको विश्वास छ ।

सहकारीको शान्तिमा योगदान बारे विश्वव्यापी सचेतना, सरोकारवालाबीच बलियो सञ्जाल, जलवायु परिवर्तन बारे छलफल र प्राविधिक ज्ञान आदान प्रदान, सीमापार परियोजना सञ्चालन, सहकारीमैत्री नीतिको कार्यान्वयन र अन्तर्राष्ट्रिय सहकार्य वृद्धिका साथै दीर्घकालिन विश्व शान्ति स्थापनामा पहल, सहकारीमार्फत् दिगो सामाजिक आर्थिक विकास तथा शान्ति संवादको अन्तर्राष्ट्रिय केन्द्रका रुपमा नेपालको पहिचान पुग्ने अपेक्षा सम्मेलनबाट गरिएको छ । सहकारीको पुँजीलाई उत्पादन तथा प्रशोधन, बजारीकरण, वित्तीय क्षेत्र र कृषिको दिगोपनका साथै उद्यम व्यवसायका क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा भित्र्याई मुलुकको आर्थिक तथ सामाजिक रुपान्तरण थप टेवा पुर्‍याउने लक्ष्य सम्मेलनले राखेको छ । त्यसैगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न बन्न लागेको प्राधिकरण ऐनलाई समेत सार्थक बनाउन सम्मलेनमार्फत् सघाउने विश्वास लिइएको छ ।

सम्मेलनमा सहभागी हुन स्वदेशी सहकारीकर्मीलाई प्रति व्यक्ति ६ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति २५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित : १० मंसिर २०८३, बिहिबार १२:३८ 26 November, 2026 12:38 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।