बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको प्रवर्द्धनसँगै स्थानीय स्तरमा पूर्वाधार विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्दै गाउँठाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताएका छन्।
बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै ढकालले पर्यटन, कृषि र पूर्वाधार विकासलाई स्थानीय आर्थिक गतिविधिसँग जोड्नुपर्ने बताएका हुन्।
बाइसे–चौबिसे राज्यकालदेखिको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भैरवस्थान क्षेत्रमा पर्यटन, कृषि उपज तथा रोजगारीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तथा अन्य विदेशी पर्यटकको सङ्ख्या बढेको चर्चा गर्दै ढकालले मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्रै बागलुङका भैरवस्थानलगायत पर्यटकीय स्थलमा आकर्षित गर्न सके यस क्षेत्रको आर्थिक विकासमा ठूलो योगदान पुग्ने बताए।
“मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र पनि बागलुङका भैरवस्थान लगायतका पर्यटकीय स्थलहरूमा आकर्षित गर्न सकिए यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्नेछ,” उनले भने।
पर्यटकलाई कम्तीमा एक रात यस क्षेत्रमा बस्ने वातावरण बनाउन गुणस्तरीय होटल, रिसोर्ट तथा होमस्टेजस्ता पर्यटन पूर्वाधार विस्तार गर्नुपर्ने उनले बताए। केबलकारलगायतका पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भए छोटो समयमै सकारात्मक परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो।
यसैगरी, नेपालभित्रै स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले महासङ्घको ढोरपाटन बैठकको निर्णयअनुसार १० अर्ब रुपैयाँ पुँजीको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ नामक लगानी कम्पनी सञ्चालनमा ल्याइएको ढकालले जानकारी दिए।
कम्पनीले पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रविधिलगायतका क्षेत्रमा लगानी भित्र्याउने काम सुरु गरिसकेको उनले बताए।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।


Comment