सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राख्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राख्यो



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले मंगलबारदेखि शेयर बिक्री प्रक्रिया सुरु गरेको हो ।

बैंकका अनुसार बिक्रीमा राखिएको कुल शेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउनेछन् । यसका लागि बैंकले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

त्यस्तै, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक शेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्नेछन् । इच्छुक सर्वसाधारणले पनि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

संस्थापक शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या उल्लेख गरी काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन पेश गर्नुपर्नेछ ।

बैंकले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी तथा सर्वसाधारण लगानीकर्तालाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित : 18 August, 2026 11:03 am