नाइमा एक्स्पोमा अटो कर्जाको आकर्षक अफर, बैंकका स्टलमा बढ्यो भीड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाइमा एक्स्पोमा अटो कर्जाको आकर्षक अफर, बैंकका स्टलमा बढ्यो भीड



काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरूले अटो कर्जाका लागि विशेष अफर तथा सुविधा उपलब्ध गराइरहेका छन्।

नाइमा एक्स्पोका सहप्रायोजक ग्लोबल आइएमई बैंक तथा बैंकिङ साझेदार सिद्धार्थ बैंक र एनएमबी बैंकले विशेष योजनासहित मेलास्थलमै ग्राहकलाई कर्जा सुविधाबारे जानकारी तथा सहजीकरण गरिरहेका छन्।

आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि मेला अवलोकनकर्ताहरू बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने गरेका छन्। बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराइरहेका छन् भने सेवा शुल्क ०.५ प्रतिशत मात्र लिइरहेको बताएका छन्।

मेलाको तेस्रो दिनसम्म अवलोकनकर्ताको उपस्थिति बढ्दै जाँदा बैंकका स्टलमा समेत उल्लेख्य भीड देखिएको छ।

कर्जाबारे जानकारी लिनेको संख्या बढ्दै

ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ व्यवस्थापक मन्जिल बिष्टले एक्स्पोमा हरेक दिन अवलोकनकर्ताको संख्या बढेसँगै बैंकको स्टलमा आएर कर्जाबारे जानकारी लिनेको संख्या पनि उल्लेख्य रूपमा बढेको बताए।

‘गाडी छनोट गरिसकेपछि हाम्रो स्टलमा आएर कर्जाका लागि नाम टिपाउने तथा क्यूआर स्क्यान गरेर आवेदन दिनेहरूको संख्या उल्लेख्य छ,’ उनले भने, ‘सवारी विक्रेता कम्पनीहरूले आकर्षक अफर ल्याएर अवलोकनकर्ताको मन जितिरहँदा त्यसलाई सहयोग पुग्ने गरी हामीले काम गरिरहेका छौँ।’

मेला अवलोकनपछि कर्जाका लागि नाम दर्ता गराउने ग्राहकलाई सम्बन्धित शाखासँग जोड्ने काममा बैंकका स्टलहरूले सहजीकरण गरिरहेका छन्।

संकलित विवरण शाखासम्म पुर्‍याउँदै सिद्धार्थ बैंक

सिद्धार्थ बैंकका लाजिम्पाट शाखा प्रबन्धक विष्णुप्रसाद शर्माले स्टलमा संकलन भएका विवरण केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रीय कार्यालयले अवलोकनकर्तालाई सम्पर्क गरी सम्बन्धित शाखासँग जोड्ने काम भइरहेको बताए।

‘कतिपय अवलोकनकर्तालाई हामीले सिधै शाखासँग जोडिदिने गरेका छौँ,’ उनले भने।

सवारीसाधन छनोट गरिसकेपछि कर्जाका लागि नाम दर्ता गराउने अवलोकनकर्ताको संख्या हरेक दिन बढिरहेको शर्माले बताए।

एनएमबी बैंकले पनि ब्याजदरमा विशेष सुविधा

एनएमबी बैंकले पनि मेलास्थलमा रहेको आफ्नो स्टलमार्फत अवलोकनकर्तालाई कर्जा तथा अन्य बैंकिङ सेवाबारे सहजीकरण गरिरहेको जनाएको छ।

बैंककी सम्बन्ध व्यवस्थापक समीक्षा पन्तले मेलाका अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेको बताइन्।

‘हामीले मेला अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेका छौँ,’ उनले भनिन्, ‘नाइमालाई लक्षित गरेर ब्याजदर परिमार्जन गरेका हौँ। ग्राहकको प्रतिक्रिया राम्रो आइरहेको छ।’

विद्युतीय सवारी मुख्य आकर्षण

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ।

एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्।

प्रकाशित : 14 August, 2026 4:32 pm