काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको १ अर्ब ८८ करोड रुपैयाँको तुलनामा १२.२३ प्रतिशत बढी हो।
बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ। अघिल्लो आवमा ९३ करोड ६३ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा ४.८६ प्रतिशतले वृद्धि भई ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ। बैंकको मुख्य आम्दानीतर्फ खुद ब्याज आम्दानीमा सुधार देखिएको छ। अघिल्लो आवको ५ अर्ब ७६ करोड रुपैयाँबाट बढेर खुद ब्याज आम्दानी ६ अर्ब ७ करोड रुपैयाँ पुगेको हो।
यता बैंकको खराब कर्जा अनुपात भने सामान्य बढेको छ। अघिल्लो आवमा ३.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.९८ प्रतिशत पुगेको छ। बैंकले कस्ट अफ फण्ड भने ४.२३ प्रतिशतबाट घटाएर ३.२७ प्रतिशतमा झारेको छ।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७८.४५ प्रतिशत, बेस रेट ५.०४ प्रतिशत र रिटर्न अन इक्विटी (आरओई) १०.३६ प्रतिशत रहेको छ। बैंकको तरलता अनुपात ३२.९३ प्रतिशत कायम भएको छ।
बैंकको निक्षेप संकलनमा समेत वृद्धि भएको छ। अघिल्लो आवको १ खर्ब ८४ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह १ खर्ब ४१ अर्बबाट बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आवमा १५.५९ रुपैयाँ रहेको ईपीएस बढेर १७.४९ रुपैयाँ पुगेको हो। बैंकको प्रतिसेयर नेटवर्थ १६९.९ रुपैयाँ र पीई रेसियो १४.१८ गुणा रहेको छ।


Comment