सरकारको खुला संवादले विश्वास जगायो, अब स्रोत उत्पादनशील क्षेत्रमा जानुपर्छः मनाेज ज्ञावली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारको खुला संवादले विश्वास जगायो, अब स्रोत उत्पादनशील क्षेत्रमा जानुपर्छः मनाेज ज्ञावली



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको बताएका छन्।

अर्थमन्त्री र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको बताए। उनका अनुसार बैंक तथा वित्तीय संस्थामा हाल करिब १४–१५ खर्ब रुपैयाँ अतिरिक्त तरलता रहेको छ, जसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ।

उनले सरकार, निजी क्षेत्र, बैंकिङ प्रणाली तथा उद्यमी–व्यवसायीबीच सहकार्य गरेर उपलब्ध वित्तीय स्रोतलाई उत्पादन, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा उपयोग गर्ने लक्ष्य रहेको बताए। छलफलमा आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, उत्पादनशील क्षेत्रमा लगानी विस्तार तथा बाह्य क्षेत्रको सन्तुलन सुधारका विषयमा पनि विशेष जोड दिइएको उनले जानकारी दिए।

ज्ञवालीका अनुसार अर्थमन्त्रीले यसअघि उत्पादनमूलक उद्योगका व्यवसायीसँग पनि छलफल गरिसकेका छन्। सोही क्रममा प्राप्त सुझावहरूको समीक्षा गर्दै बैंकिङ क्षेत्रसँग समेत परामर्श गरिएको हो। उक्त छलफलमा अधिकांश वाणिज्य बैंकका सीईओहरूको सहभागिता रहेको थियो।

उनले अर्थमन्त्रीले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट सन्देश दिएको बताए। नीतिगत, कानुनी वा प्रशासनिक अवरोध भए सुझाव दिन आग्रह गर्दै आवश्यक सुधारका लागि सरकार सकारात्मक रहेको धारणा अर्थमन्त्रीले व्यक्त गरेको उनको भनाइ छ।

सरकारले सरोकारवालासँग निरन्तर संवाद गर्दै नीति निर्माणको प्रक्रिया अघि बढाउनु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै ज्ञवालीले उपयुक्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धताले निजी क्षेत्रमा विश्वासको वातावरण सिर्जना हुने बताए।

उनका अनुसार हाल बैंकिङ क्षेत्रमा ८२ खर्ब रुपैयाँ निक्षेप रहेको छ, जुन मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण वित्तीय स्रोत हो। राज्यको सीमित पूँजीगत खर्चले मात्र अपेक्षित आर्थिक वृद्धि सम्भव नहुने भएकाले बैंकिङ क्षेत्र, निजी क्षेत्र तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहित सबै उपलब्ध स्रोत परिचालन गरेर समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने उनले जोड दिए।

ज्ञवालीले प्रधानमन्त्री र अर्थमन्त्रीले विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी, निर्माण व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै सुझाव र सहकार्यका आधारमा आर्थिक विकासलाई गति दिने सरकारको सन्देश स्पष्ट रूपमा आएको बताए।

प्रकाशित : 4 August, 2026 9:12 pm