महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढी छलाङ, लाभांश क्षमता ४२.५८ रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढी छलाङ, लाभांश क्षमता ४२.५८ रुपैयाँ



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले संस्थाको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधार देखिएको छ।

समीक्षा अवधिसम्म संस्थाले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा १ करोड ७० लाख रुपैयाँ रहेको थियो। यस आधारमा नाफा १,०३६.४६ प्रतिशत अर्थात् १० गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ।

आम्दानीतर्फ पनि सकारात्मक सुधार देखिएको छ। खुद ब्याज आम्दानी ३५ करोड ५९ लाख रुपैयाँबाट बढेर ४९ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यस्तै, खराब कर्जाबापत गर्नुपर्ने प्रोभिजन घट्नुका साथै सञ्चालन आम्दानीमा सुधार आउँदा सञ्चालन नाफा २ करोड २३ लाख रुपैयाँबाट उक्लिएर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

लाभांश वितरण गर्ने क्षमता पनि उल्लेखनीय रूपमा बलियो बनेको छ। नियामकीय समायोजनपछि असार मसान्तसम्म वितरणयोग्य नाफा १६ करोड ५० लाख रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ४ करोड ७७ लाख रुपैयाँ मात्र थियो। हालको चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ४२ रुपैयाँ ५८ पैसा पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोषको कुल आकार ४९ करोड ५६ लाख रुपैयाँ पुगेको छ। सदस्यहरूबाट संकलित निक्षेप तथा सापटी ३ अर्ब ७४ करोड रुपैयाँबाट बढेर ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, ग्राहकलाई प्रवाह गरिएको कर्जा ५ अर्ब ११ करोड रुपैयाँबाट वृद्धि भई ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

संस्थाको कुल सम्पत्ति पनि विस्तार भएको छ। अघिल्लो आर्थिक वर्षको ५ अर्ब ६९ करोड रुपैयाँबाट बढेर समीक्षा अवधिको अन्त्यसम्म ६ अर्ब ६६ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

वित्तीय सूचकहरू हेर्दा प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ८८ पैसा पुगेको छ। साथै, खराब कर्जा अनुपात १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशतमा झरेको छ। नाफा, आम्दानी र सम्पत्तिमा आएको सुधारसँगै वितरणयोग्य नाफा पनि बढेकाले संस्थाको लाभांश वितरण क्षमता थप सुदृढ बनेको देखिएको छ।

प्रकाशित : 3 August, 2026 12:40 pm