हिमालयन लघुवित्तको नाफामा ४९ प्रतिशत वृद्धि, लाभांश क्षमता प्रतिशेयर २७.१३ रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन लघुवित्तको नाफामा ४९ प्रतिशत वृद्धि, लाभांश क्षमता प्रतिशेयर २७.१३ रुपैयाँ



काठमाडौं । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणले संस्थाको आम्दानी र नाफा दुवैमा उत्साहजनक वृद्धि भएको देखाएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले १० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ७ करोड १४ लाख रुपैयाँ रहेको थियो। यससँगै संस्थाको खुद नाफा वार्षिक आधारमा ४९.१८ प्रतिशतले बढेको देखिन्छ।

खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको ३७ करोड ८ लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्ष ४४ करोड २१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि १० करोड ५४ लाख रुपैयाँबाट बढेर १५ करोड २१ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

लघुवित्तको लाभांश वितरण गर्ने क्षमता पनि बलियो बनेको छ। असार मसान्तसम्म वितरणयोग्य नाफा ९ करोड २५ लाख २१ हजार रुपैयाँ कायम भएको छ। चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २७ रुपैयाँ १३ पैसा पुगेको छ, जसले आगामी लाभांश वितरणको सम्भावना सकारात्मक देखाएको छ।

संस्थाको चुक्ता पूँजी ३४ करोड १० लाख ८६ हजार रुपैयाँ रहेको छ। त्यस्तै, सञ्चित नाफा र जगेडा कोषको कुल आकार २९ करोड १७ लाख २३ हजार रुपैयाँ पुगेको छ।

व्यावसायिक विस्तारतर्फ पनि संस्थाले प्रगति गरेको छ। सदस्यहरूबाट संकलित निक्षेप तथा सापटी ४ अर्ब ९३ करोड रुपैयाँबाट बढेर ५ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा ४ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। कुल सम्पत्ति पनि ५ अर्ब ८७ करोड रुपैयाँबाट वृद्धि भएर ६ अर्ब १४ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, संस्थाको खराब कर्जा (एनपीएल) ९.०४ प्रतिशत पुगेको छ। यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सके आगामी दिनमा वित्तीय प्रदर्शन अझ सुदृढ बन्ने देखिन्छ। प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २६ पैसा पुगेको र प्रतिशेयर वितरणयोग्य नाफा २७ रुपैयाँ १३ पैसा कायम रहेकाले लगानीकर्ताले आकर्षक लाभांश प्राप्त गर्ने सम्भावना देखिएको छ।

प्रकाशित : 3 August, 2026 12:19 pm