काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अधिकांश वित्तीय सूचकमा सकारात्मक सुधार भएको जनाएको छ। समीक्षा अवधिमा बैंकले खुद नाफादेखि खुद ब्याज आम्दानी, सञ्चालन नाफा तथा निक्षेप र कर्जा विस्तारसम्म उत्साहजनक प्रगति हासिल गरेको देखिएको छ।
सार्वजनिक विवरणअनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष ८.९८ प्रतिशतले नाफा वृद्धि गरेको हो।
ब्याज खर्चमा आएको कमीले बैंकको खुद ब्याज आम्दानी उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको २० करोड ४५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा ५०.३० प्रतिशतले वृद्धि हुँदै ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा पनि १८ करोड ५७ लाख रुपैयाँबाट बढेर २० करोड १७ लाख रुपैयाँ कायम भएको छ।
गत असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १५ करोड ४८ लाख ६६ हजार रुपैयाँ पुगेको छ। १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजीका आधारमा बैंकसँग शेयरधनीलाई करिब १२.७३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता रहेको वित्तीय विवरणले देखाएको छ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले राम्रो प्रदर्शन गरेको छ। ग्राहकबाट संकलित निक्षेप अघिल्लो वर्षको ६ अर्ब ५० करोड रुपैयाँबाट बढेर ८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
निष्क्रिय कर्जा व्यवस्थापनमा पनि बैंकले सन्तोषजनक अवस्था कायम राखेको छ। अघिल्लो आर्थिक वर्ष ०.२८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ०.२६ प्रतिशतमा सीमित भएको छ, जुन बैंकिङ क्षेत्रका हिसाबले निकै न्यून र सुरक्षित स्तर मानिन्छ।
नाफा वृद्धिसँगै बैंकको प्रति शेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष १० रुपैयाँ ६५ पैसा रहेको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ११ रुपैयाँ ६० पैसा पुगेको छ। त्यस्तै, गत असार मसान्तसम्म बैंकको प्रति शेयर नेटवर्थ १४३ रुपैयाँ २० पैसा, पूँजी कोष अनुपात २५.७५ प्रतिशत, कोषको लागत ४.२२ प्रतिशत तथा आधार दर ५.९८ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष कोषको लागत ५.१२ प्रतिशत रहेको थियो।


Comment