नेपालभर मनसुनी वायुको प्रभाव, मकवानपुरमा सर्वाधिक वर्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपालभर मनसुनी वायुको प्रभाव, मकवानपुरमा सर्वाधिक वर्षा



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार)नेपालभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू–भागको नजिक आइपुगेकाले देशभरको मौसममा उल्लेख्य बदली देखिएको छ ।

पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार मकवानपुरको मकवानपुरगढी क्षेत्रमा ११९.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन विभागले विशेष आग्रह गरेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका साथै मधेस प्रदेश र तराई क्षेत्रका केही स्थानमा समेत भारी वर्षा हुनसक्ने सम्भावना देखिएको छ ।

वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने सम्भावना छ ।

भारी वर्षाका कारण कर्रा खोला, साम्री खोला र बकैया खोला लगायतका साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । 

यसअघि मोरङ लगायत देशका ३५ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै सम्बन्धित क्षेत्रमा सतर्क रहन सूचना जारी गरिएको छ ।

प्रकाशित : 13 July, 2026 5:25 pm