पोखरा र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, आजदेखि ‘पोखरा फाइनान्स’को नामबाट एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पोखरा र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, आजदेखि ‘पोखरा फाइनान्स’को नामबाट एकीकृत कारोबार



काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएको छ। मर्जरपश्चात् दुवै संस्थाले आजदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन्।

दुवै संस्थाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको बताएका छन्। स्वीकृतिअनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय जिम्मेवारी अब पोखरा फाइनान्स लिमिटेडले वहन गर्नेछ।

मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ।

यसैबीच, नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जर प्रक्रियाका कारण आजदेखि दुवै संस्थाको सेयर कारोबार रोक्का राखेको छ।

यसअघि नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको थियो। राष्ट्र बैंकका अनुसार समृद्धि फाइनान्ससँग गाभिएपछि संयुक्त संस्थाको पूँजीकोष अवस्था नियामकीय मापदण्डअनुसार सुधार हुने देखिएकाले उक्त निर्णय गरिएको हो।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक गैरस्थलगत विवरणको सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पूँजीकोष अनुपात तोकिएको न्यूनतम सीमाभन्दा निकै तल पुगेको थियो। मर्जरपछि भने संस्थाको वित्तीय अवस्था तथा पूँजी पर्याप्तता सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशित : 10 July, 2026 1:47 pm