सेबोन अध्यक्ष भट्टको पहिलो निर्णय : पूँजी बजारमा एएमएल/सीएफटीसम्बन्धी सचेतना तथा तालिम सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सेबोन अध्यक्ष भट्टको पहिलो निर्णय : पूँजी बजारमा एएमएल/सीएफटीसम्बन्धी सचेतना तथा तालिम सञ्चालन



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पदभार ग्रहणसँगै आफ्नो पहिलो निर्णयका रूपमा पूँजी बजारका सबै सरोकारवालालाई लक्षित गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी (एएमएल/सीएफटी) निवारणसम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन्।

सोमबार बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष भट्टले सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल (ब्रोकर) तथा पूँजी बजारसँग सम्बन्धित अन्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र उत्तरदायी बनाउन सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी सचेतना र क्षमता विकास आवश्यक रहेको बताए।

पदभार ग्रहण कार्यक्रममा बोर्डका कार्यकारी निर्देशकहरू रुपेश केसी, मुक्तिनाथ श्रेष्ठ, विनयदेव आचार्यलगायत कर्मचारीहरूले अध्यक्ष भट्टलाई स्वागत गरेका थिए।

यसअघि सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै लगानीकर्ताको हित संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राख्न, निष्पक्ष, पारदर्शी र इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए।

प्रकाशित : 30 June, 2026 10:24 am