काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यवसायमा गरेको बजार अनुगमनका क्रममा नियम उल्लंघन गरेको पाइएका तीन फर्मलाई कुल २ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार काठमाडौं महानगरपालिका–२६ त्रिदेवी मार्गमा सञ्चालित बसेरा बुटिक होटल प्रालि अन्तर्गतको केशर क्याफेले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) विपरीत गतिविधि गरेको भेटिएपछि ऐनको दफा ३९(१)(ख) अनुसार २ लाख रुपैयाँ जरिवाना गरिएको हो।
यस्तै, खरिदसम्बन्धी बिल तथा अभिलेख प्रस्तुत गर्न नसकेको भन्दै काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरस्थित के.ए.बि. स्टोरलाई १० हजार रुपैयाँ र ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित मर्मेडलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
बुधबार गरिएको अनुगमनका क्रममा केही अन्य व्यवसायमा पनि सुधार गर्नुपर्ने विषयहरू फेला परेका छन्। विभागले बाटिका क्रियसन, श्याम कृष्ण स्टोर, आर.बि. इन्टरप्राइजेज, सुपा देउराली लुम्बिनी खाद्य स्टोर, डा. रोसा झम्सिखेल प्रालि, गराज एण्ड त्रिशूल कम्पनी प्रालि, अन्नपूर्ण पेट्स होम, टि.एफ.टि. पुल्चोक, सुरज किराना खाद्य स्टोर, ए.एम.एन. ट्रेडर्स, ऋदम खाद्य स्टोर्स, हारती मेशिनरी एण्ड पार्ट्स, श्रीराज स्टील हाउस, संस्कार इन्टरप्राइजेज प्रालि, एम.एस. माही स्टील तथा एस सप्लाईज एण्ड ट्रेडिङ प्रालिलाई आवश्यक सुधार गर्न निर्देशन दिएको जनाएको छ।
विभागले बजारमा उपभोक्ताको हकहित संरक्षण तथा व्यवसायलाई कानुनी दायरामा राख्न नियमित अनुगमनलाई निरन्तरता दिइने पनि जनाएको छ।






Comment