काठमाडौं । वाणिज्य बैंकहरूमा कर्जा असुलीको संकट झन् गहिरिँदै गएको देखिएको छ। ऋणीले कर्जा तिर्न नसक्दा बैंकहरूले धितो सम्पत्ति आफ्नो नाममा सकार्ने क्रम तीव्र बनेको छ भने खराब कर्जा पनि उल्लेख्य रूपमा बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘बैंक सुपरभिजन रिपोर्ट २०२४/२५’ अनुसार वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति (धितो सकारेर बैंकको स्वामित्वमा आएको सम्पत्ति) एक वर्षमै ४१.७७ प्रतिशतले बढेर ४२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो सम्पत्ति ३० अर्ब रुपैयाँको हाराहारीमा थियो।
बैंकले धितो लिलाम गरेर पनि बिक्री गर्न नसकेपछि आफ्नो नाममा राख्ने सम्पत्तिको मात्रा बढ्नु बैंकिङ प्रणालीमा कर्जा असुली चुनौतीपूर्ण बन्दै गएको स्पष्ट देखिन्छ । रिपोर्टअनुसार निजी बैंकहरूको मात्रै ४० अर्ब ८५ करोड रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति रहेको छ।
खराब कर्जाको अवस्था पनि चिन्ताजनक देखिएको छ। एक वर्षमै खराब कर्जा २२.४० प्रतिशतले बढेर २ खर्ब २० अर्ब रुपैयाँ नाघेको छ। खराब कर्जा अनुपात (एनपीएल) ३.७६ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ। सरकारी बैंकहरूको खराब कर्जा ४.५६ प्रतिशत र निजी बैंकहरूको ४.३८ प्रतिशत रहेको छ।
राष्ट्र बैंकले बैंकहरूको कर्जा व्यवस्थापनमा समेत गम्भीर कमजोरी फेला पारेको जनाएको छ। निरीक्षणका क्रममा कतिपय बैंकहरूले त्रैमासिक प्रतिवेदन राम्रो देखाउन पुरानो ऋणको साँवा–ब्याज तिर्न ऋणीलाई पुनः नयाँ कर्जा दिने अभ्यास गरेको भेटिएको छ। यसरी वास्तविक जोखिम लुकाएर कर्जालाई नियमित देखाउने प्रयास भएको राष्ट्र बैंकको निष्कर्ष छ।
त्यस्तै, कर्जा स्वीकृत भएपछि रकम तत्कालै सञ्चालक वा सम्बन्धित व्यक्तिको खातामा स्थानान्तरण हुने गरेको तर बैंकहरूले उक्त रकम वास्तविक उद्देश्यमा प्रयोग भए नभएको प्रभावकारी अनुगमन नगरेको पनि प्रतिवेदनमा उल्लेख छ।
यद्यपि बैंकहरूको निक्षेप र नाफा दुवै बढेका छन्। वाणिज्य बैंकहरूको कुल निक्षेप १३.६३ प्रतिशतले बढेर ६५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने खुद नाफा ५.९० प्रतिशतले बढेर ५२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। तर नाफा बढ्दासमेत खराब कर्जा र धितो सम्पत्तिको चाप बढ्नुले बैंकहरूको सम्पत्ति गुणस्तरमा दबाब बढिरहेको संकेत गरेको राष्ट्र बैंकको विश्लेषण छ।
रिपोर्टले बैंकिङ क्षेत्र अझै स्थिर रहे पनि आर्थिक सुस्तता, कर्जा असुलीमा समस्या र कमजोर आन्तरिक नियन्त्रण प्रणाली आगामी दिनका प्रमुख चुनौतीका रूपमा रहेको औंल्याएको छ।






Comment