स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट अध्यक्षको जिम्मेवारी प्राप्त गर्नु मेरो लागि ठूलो अवसर र जिम्मेवारी दुवै हो। संस्थाको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार मैले यो जिम्मेवारी पाएको हुँ।
ऊर्जा क्षेत्रसँग मेरो सम्बन्ध आजको होइन। विगत छ वर्षदेखि म इप्पान विभिन्न नेतृत्व तहमा सक्रिय रहँदै आएको छु। उपाध्यक्षदेखि वरिष्ठ उपाध्यक्षसम्मको यात्रा पार गर्दै अहिले अध्यक्षको जिम्मेवारीमा पुगेको छु। यस अवधिमा ऊर्जा क्षेत्रका समस्या, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरेको छु।
म स्वयं पनि जलविद्युत् विकासमा संलग्न उद्यमी हुँ। मेरा केही आयोजना सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन्। मनाङको दाना खोलामा ८३ मेगावाटको आयोजना निर्माण भइरहेको छ भने अन्य आयोजनाहरू पनि विभिन्न चरणमा छन्। झण्डै ३०० मेगावाट बराबरका आयोजनाहरू अध्ययन तथा विकासको प्रक्रियामा रहेका छन्।
यस अनुभवले मलाई परियोजनाको अध्ययन चरण, निर्माण चरण र सञ्चालन चरणमा देखिने समस्या र चुनौतीबारे प्रत्यक्ष ज्ञान दिएको छ। त्यसैले अब अध्यक्षको हैसियतमा मेरो पहिलो प्राथमिकता सदस्यहरूको समस्या समाधानका लागि प्रभावकारी पैरवी (एडभोकेसी) गर्नु हुनेछ। जहाँ जानुपर्ने हुन्छ, जुन निकायसँग समन्वय गर्नुपर्ने हुन्छ, ऊर्जा क्षेत्रका साझा मुद्दा समाधानका लागि म सक्रिय रहनेछु।
अहिलेको राजनीतिक परिवेशलाई पनि मैले अवसरका रूपमा लिएको छु। देशमा बलियो सरकार बनेको छ र जनताले विकास तथा परिणामको अपेक्षा गरेका छन्। यस्तो अवस्थामा ऊर्जा क्षेत्रसँग सम्बन्धित कानुन, नीति र नियमहरू निर्माण तथा सुधारका लागि अनुकूल वातावरण बनेको मेरो विश्वास छ।
नेपालको जलविद्युत् क्षेत्रले लामो समयदेखि केही नीतिगत तथा कानुनी जटिलता भोगिरहेको छ। ऊर्जा विकाससँग सम्बन्धित ऐन, नियमावली, वन तथा भूमि प्रयोगका विषय, अनुमति प्रक्रियाका जटिलता लगायतका विषयमा सुधार आवश्यक छ। अब आईप्यानको नेतृत्वबाट सरकारसँग सहकार्य गर्दै विकासमैत्री, लगानीमैत्री र ऊर्जा आयोजनामैत्री नीतिगत वातावरण निर्माणका लागि पहल गर्नेछु।
मेरो नेतृत्व व्यक्तिगत निर्णयमा आधारित हुने छैन। सामूहिक नेतृत्व र सामूहिक निर्णयलाई प्राथमिकता दिनेछु। पूर्व अध्यक्ष कृष्ण आचार्यले बारम्बार उठाउँदै आएको “Going Together, Growing Together” को भावनालाई आत्मसात् गर्दै सम्पूर्ण सदस्यहरूलाई साथ लिएर अघि बढ्नेछु।
ऊर्जा क्षेत्र विस्तार भएसँगै अब अनुसन्धान तथा नीतिगत अध्ययनलाई पनि संस्थागत रूपमा अगाडि बढाउन आवश्यक भएको छ। त्यसका लागि पूर्वसचिव, विज्ञ तथा अनुभवी व्यक्तिहरू सम्मिलित अध्ययन समूह गठन गरेर तथ्य र प्रमाणमा आधारित सुझाव सरकारलाई उपलब्ध गराउने योजना रहेको छ। हामी केवल निजी क्षेत्रको हितमा मात्र होइन, देशको दीर्घकालीन हितलाई केन्द्रमा राखेर नीति निर्माणमा सहयोग गर्नेछौं।
अध्यक्षका रूपमा प्राप्त यो अवसरलाई म केवल पदको रूपमा होइन, जिम्मेवारी र इतिहास बनाउने अवसरका रूपमा लिएको छु। ऊर्जा क्षेत्रको दिगो विकास, लगानीमैत्री वातावरण निर्माण र देशको आर्थिक समृद्धिमा योगदान पुर्याउने लक्ष्यका साथ म सम्पूर्ण ऊर्जा उद्यमी, सरोकारवाला र सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।






Comment