विद्युत् नियमन आयोगमा पदाधिकारी बन्न ३२ जनाको प्रतिस्पर्धा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

विद्युत् नियमन आयोगमा पदाधिकारी बन्न ३२ जनाको प्रतिस्पर्धा



काठमाडौं। नेतृत्वविहीन बनेको विद्युत् नियमन आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि आवेदन प्रक्रिया सम्पन्न भएको छ। आयोगको अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जनाले आवेदन दिएका छन्।

आयोगका एक अध्यक्ष र एक महिला सदस्यसहित चार सदस्य नियुक्त गर्न गठित सिफारिस समितिले जेठ २१ गतेसम्म आवेदन आह्वान गरेको थियो। सो अवधिभित्र अध्यक्ष र सदस्य दुवै पदमा उल्लेख्य संख्यामा आवेदन परेको समितिले जनाएको छ।

अध्यक्ष पदका आकांक्षीहरूमा पूर्व पदाधिकारी, ऊर्जा क्षेत्रका विज्ञ, पूर्व प्रशासक तथा शिक्षाविद्हरू रहेका छन्। आवेदन दिनेहरूमा रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वर प्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा.मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र डा. शान्तीकला सुवेदी रहेका छन्।

त्यस्तै सदस्य पदका लागि ऊर्जा, इन्जिनियरिङ, प्रशासन तथा नियामक क्षेत्रसँग सम्बन्धित २२ जनाले आवेदन दिएका छन्। आवेदकहरूको सूचीमा डा. शेखर अर्याल, राजीवकुमार सिंह, निरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, ब्रजमोहन झा, सुरेशबहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम, झमकप्रसाद शर्मा, विशाल सिलवाल, बलराम सिलवाल, राजीव दाहाल, विज्ञान श्रेष्ठ, दिवाकर मल्लिक, अर्जुनकुमार गौतम, नरेन्द्रसिंह भण्डारी, नारायणप्रसाद सापकोटा, कल्पमोहन सोती, शान्तीकला सुवेदी र कुशेश्वरप्रसाद साहु रहेका छन्।

सिफारिस समितिका अनुसार आवेदन दिएका उम्मेदवारहरूको शैक्षिक योग्यता र कार्य अनुभवको मूल्यांकनपछि मात्रै दरखास्त स्वीकृत गरिनेछ। स्वीकृत उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनामा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गर्नेहरूलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिनेछ।

सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ लागू गर्दै आयोगका अध्यक्ष र चार सदस्यलाई पदमुक्त गरेपछि आयोग नेतृत्वविहीन बनेको थियो। त्यसपछि रिक्त पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले छनोट प्रक्रिया सञ्चालन गरिरहेको छ। समितिमा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतीशनारायण जोशी सदस्य रहेका छन्।

प्रकाशित : 5 June, 2026 12:50 pm