बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, आज ३ बजे बोलकबोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, आज ३ बजे बोलकबोल



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न आज दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

५६ दिन अवधिको उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी साउन १३ गते गरिने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि राष्ट्र बैंकले पछिल्ला दिनहरूमा नियमित रूपमा निक्षेप संकलनमार्फत बजारबाट रकम व्यवस्थापन गर्दै आएको छ।

प्रकाशित : 3 June, 2026 11:10 am