काठमाडौंमा ‘फिन इलेक्ट्रो-टेक २०२६’ हुँदै, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौंमा ‘फिन इलेक्ट्रो-टेक २०२६’ हुँदै, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा



काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) को आयोजनामा ११औँ राष्ट्रिय विद्युतीय प्रदर्शनी ‘फिन इलेक्ट्रो-टेक २०२६’ आगामी जेठ २२ देखि २५ गतेसम्म (जुन ५–८, २०२६) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको हो।

सन् १९९६ देखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रदर्शनीले विद्युतीय क्षेत्रका उत्पादक, आयातकर्ता, वितरक, व्यवसायी तथा उपभोक्तालाई एउटै थलोमा जोड्दै आएको महासंघले जनाएको छ।

प्रदर्शनीमा ट्रान्सफर्मर, स्विचगियर, केबल, स्मार्ट होम तथा स्मार्ट बिल्डिङ समाधान, औद्योगिक स्वचालन, सौर्य ऊर्जा प्रणाली, ई–मोबिलिटी तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरू प्रदर्शन गरिनेछन्। यसका साथै उद्योगी–व्यवसायी, इन्जिनियर, आर्किटेक्ट तथा परामर्शदाताबीच बीटुबी ९बिजनेस टु बिजनेस० भेटघाट तथा नेटवर्किङका कार्यक्रमहरू पनि सञ्चालन गरिने जनाइएको छ।

प्रदर्शनीमा ट्रान्सवेल्ड, हेभल्स, केईआई, जनता केबल, लेजर इन्डिया, सिमेन्स, क्रम्पटनलगायत स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डहरूको सहभागिता रहने आयोजकले जनाएको छ। सुरक्षित र गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न तथा ऊर्जा दक्षता प्रवर्द्धन गर्न प्रदर्शनी उपयोगी हुने विश्वास गरिएको छ।

यस वर्षको प्रदर्शनीको टाइटल स्पन्सर ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेको छ भने हेभल्स ‘पावर्ड बाई’ स्पन्सरका रूपमा रहेको छ। त्यसैगरी केईआई प्लाटिनम स्पन्सर, लेजर इन्डिया र ग्रेटवाइट इलेक्ट्रिकल्स डायमण्ड स्पन्सर तथा ब्रिलियन्ट एलईडी गोल्ड स्पन्सरका रूपमा रहेका छन्। नबिल बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तथा मिडिया स्पेस सोलुसन्सलगायत संस्थाहरूले पनि विभिन्न विधामा सहकार्य गरेका छन्।

महासंघका अध्यक्ष दिलीप कुमार अग्रवालले सरकारले लिएको विद्युत् खपत वृद्धि तथा नवीकरणीय ऊर्जाको प्रयोग विस्तार गर्ने नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले विद्युतीय तथा ऊर्जा क्षेत्रमा भएका नवीनतम प्रविधिबारे जानकारी आदान–प्रदान गर्न र व्यवसायिक अवसर विस्तार गर्न प्रदर्शनी प्रभावकारी मञ्च बन्ने बताए।

आयोजकका अनुसार चारदिने प्रदर्शनीमा ५० हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहने भए पनि अवलोकनकर्ताले अनिवार्य रूपमा क्यूआर कोड वा अनलाइन माध्यमबाट पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित : 1 June, 2026 3:04 pm