पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छ : अध्यक्ष सागर ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छ : अध्यक्ष सागर ढकाल



काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटप्रति स्टक ब्रोकर समुदायले सकारात्मक प्रतिक्रिया जनाएको छ। पूँजी बजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली (एनआरएन) लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवातसम्बन्धी प्रावधानलाई उनीहरूले ऐतिहासिक तथा दूरदर्शी कदमका रूपमा मूल्यांकन गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ का कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटले नेपालको पूँजी बजारलाई आधुनिक र लगानीमैत्री दिशातर्फ अघि बढाएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “यस वर्षको बजेटले पूँजी बजारलाई केवल शेयर कारोबारको माध्यमका रूपमा होइन, राष्ट्रिय अर्थतन्त्रको विकास साझेदारका रूपमा स्थापित गर्ने संकेत दिएको छ। बजार सुधार, लगानीकर्ता संरक्षण र वित्तीय उपकरण विस्तारका प्रयास अत्यन्त सकारात्मक छन्।”

बजेटमा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना, इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा डेरिभेटिभ उपकरणलाई चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरिएको छ।

अध्यक्ष ढकालका अनुसार यी व्यवस्थाले बजारमा तरलता वृद्धि गर्नुका साथै संस्थागत लगानी आकर्षित गर्नेछन्।

उहाँले भन्नुभयो, “इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता अन्तर्राष्ट्रिय अभ्यासका उपकरणले बजारलाई अझ प्रभावकारी, प्रतिस्पर्धी र परिपक्व बनाउनेछ।”

त्यसैगरी गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी व्यवस्था परिमार्जन गर्ने सरकारी निर्णयलाई पनि उहाँले महत्वपूर्ण कदमका रूपमा उल्लेख गर्नुभयो।

उहाँका अनुसार, “विश्वभर रहेका नेपालीहरूको पूँजी र अनुभवलाई नेपाली बजारमा आकर्षित गर्न सके बजारको आकार र स्थायित्व दुवै बढ्नेछ।”

सूचीकृत कम्पनीहरूको शेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने निर्णयले लगानीकर्तामा रहेको अन्योल हट्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

सरकारले इनसाइडर ट्रेडिङ तथा शेयर कर्नरिङविरुद्ध अपनाएको शून्य सहनशीलताको नीतिलाई पनि ब्रोकर समुदायले स्वागत गरेको छ।

ढकालले थप भन्नुभयो, “बजारको विश्वसनीयताका लागि पारदर्शिता र कडाइ आवश्यक हुन्छ। यस्तो नीति लगानीकर्ताको विश्वास बढाउने दिशामा महत्वपूर्ण छ।”

एफएनसिसिआइका प्रतिनिधिसमेत रहनुभएका ढकालले सरकार, नियामक निकाय र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।

उहाँको भनाइमा, “अब मुख्य चुनौती बजेटको प्रभावकारी कार्यान्वयन हो। समन्वय र सहकार्य हुन सके पूँजी बजारले अर्थतन्त्रलाई नयाँ गति दिन निर्णायक भूमिका खेल्न सक्छ।”

स्टक ब्रोकर समुदायले समग्र बजेटले नेपालको पूँजी बजारलाई डिजिटल, पारदर्शी र लगानीमैत्री प्रणालीतर्फ अघि बढाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : 29 May, 2026 7:03 pm