सीईओ पाण्डेको पक्राउप्रति बैंकिङ क्षेत्रको आपत्ति, ‘वित्तीय स्थायित्वमै असर पर्न सक्छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सीईओ पाण्डेको पक्राउप्रति बैंकिङ क्षेत्रको आपत्ति, ‘वित्तीय स्थायित्वमै असर पर्न सक्छ’



काठमाडौं : नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउप्रति गम्भीर आपत्ति जनाएका छन् ।

चारवटै छाता संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेलाई पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो ।

विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था प्रचलित कानून र को निर्देशनअनुसार सञ्चालन हुने उल्लेख गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ ले कर्जा असुलीका विषयमा बैंकलाई विशेष अधिकार दिएको जनाइएको छ । कर्जा असुली प्रक्रिया अघि बढाउनु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीभित्र पर्ने संगठनहरूको भनाइ छ ।

‘सर्वसाधारणको निक्षेपबाट सञ्चालित बैंकजस्ता संस्थाका सीईओलाई कर्जा असुलीकै विषयमा पक्राउ गर्दा बैंकको साखमा नकारात्मक असर पर्नुका साथै समग्र वित्तीय स्थायित्वमै असर पर्न सक्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

संगठनहरूले अनुसन्धान प्रक्रियामा ‘पहिले सुन अनि थुन’ को सिद्धान्त अपनाउन आग्रह गर्दै पाण्डेलाई थुनाबाहिर राखेर अनुसन्धान अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् । बैंकको गरिमा र उच्च पदस्थ कर्मचारीको मर्यादालाई ध्यानमा राखेर अनुसन्धान गर्नुपर्ने उनीहरूको जोड छ ।

प्रकाशित : 14 May, 2026 1:15 pm