काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीका अधिकांश वित्तीय सूचकमा उतारचढाव देखिएको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा भने ९१.१५ प्रतिशतले घटेर ४ करोड १ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी भने सामान्य रूपमा बढेको छ। समीक्षा अवधिमा यस्तो आम्दानी २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँबाट बढेर करीब २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। आम्दानीमा सुधार देखिए पनि जाजरकोट भूकम्प, बाढीपहिरो तथा विभिन्न बीमा दाबीका कारण दाबी भुक्तानी बढ्दा नाफामा तीव्र दबाब परेको कम्पनीले जनाएको छ।
यता निर्जीवन बीमा कोष ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँबाट ९७.९६ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ। तर लगानी तथा कर्जाबाट हुने आम्दानी भने करीब ३२ प्रतिशतले घटेको देखिएको छ।
कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ। विपरीत रूपमा कुल खर्च भने १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) २१ रुपैयाँ ५५ पैसाबाट घटेर १ रुपैयाँ ९१ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ ०६ पैसा कायम भएको छ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ। कम्पनीको महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ तथा जगेडा कोषमा ३३ करोड २७ लाख रुपैयाँ सञ्चिति रहेको छ। चैत मसान्तसम्म कम्पनीले करीब ८ अर्ब रुपैयाँ लगानी गरेको जनाएको छ।






Comment