भृकुटीमण्डपमा स्वास्थ्य क्षेत्रको ठूलो जमघट, एक्स्पोमा अत्याधुनिक उपकरण प्रदर्शन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भृकुटीमण्डपमा स्वास्थ्य क्षेत्रको ठूलो जमघट, एक्स्पोमा अत्याधुनिक उपकरण प्रदर्शन



काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौँ संस्करण बिहीबारदेखि सुरु भएको छ। रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) को आयोजनामा यो प्रदर्शनी सुरु भएको हो।

एक्स्पोको औपचारिक उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वास्थ्य क्षेत्रमा भित्रिएका नयाँ प्रविधिहरूबारे सर्वसाधारण र सरोकारवालालाई जानकारी गराउन यो प्रदर्शनी निकै महत्त्वपूर्ण रहेको बताए। उनले यस्ता प्रदर्शनीले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा टेवा पुऱ्याउने विश्वास व्यक्त गरे।

केमसानका अध्यक्ष भक्त हमालले सबै प्रकारका स्वास्थ्य सामग्री तथा उपकरण एकै स्थानमा अवलोकन गर्न पाइने भएकाले यो प्रदर्शनी स्वास्थ्य क्षेत्रका सरोकारवालाका लागि अत्यन्त उपयोगी हुने बताए।

तीन दिनसम्म चल्ने यस एक्स्पोमा नेपाल र भारतसहित विभिन्न देशका ४ सय ७५ भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहेको छ। प्रदर्शनीमा स्वास्थ्य सेवा र प्रयोगशाला विज्ञानका पछिल्ला नवीनतम प्रविधि, आधुनिक उपकरण तथा प्राविधिक समाधानहरूलाई नजिकबाट अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।

एक्स्पोमा मुख्यतया अस्पताल, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, औषधि कम्पनी, अनुसन्धान संस्था, विश्वविद्यालय, मेडिकल कलेज, ब्लड बैंक तथा खाद्य तथा सामग्री परीक्षण प्रयोगशालासँग सम्बन्धित स्टलहरू राखिएका छन्। यस मेलाले स्वास्थ्य क्षेत्रका उद्यमी, चिकित्सक, प्राविधिक र विद्यार्थीहरूलाई एकै ठाउँमा ल्याएर ज्ञान र प्रविधिको आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 1 May, 2026 10:38 am