काठमाडौं । प्रभु बैंक लिमिटेड ले चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको नाफामा उल्लेख्य गिरावट आएको छ भने खराब कर्जा (एनपीएल) बढेको देखिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालू आवमा भने ५४.६१ प्रतिशत गिरावटसहित मात्र ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकको खुद ब्याज आम्दानी भने सामान्य रूपमा बढेको छ। अघिल्लो वर्ष ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ७ अर्ब १८ करोड १९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ६१ करोड ९० लाख रुपैयाँबाट बढेर ९ अर्ब ८२ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
यद्यपि आम्दानीमा सामान्य सुधार भए पनि सञ्चालन मुनाफा भने घटेको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँबाट ३४ प्रतिशतले घटेर २ अर्ब २६ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। वितरणयोग्य मुनाफा अझै ऋणात्मक अवस्थामा रहेको छ, जुन ३ अर्ब ३९ करोड ४३ लाख रुपैयाँबाट बढेर ४ अर्ब २८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक पुगेको छ।
बैंकको खराब कर्जा (एनपीएल) ५.०९ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको छ, जसले वित्तीय जोखिम बढेको संकेत गर्छ। प्रतिशेयर आम्दानी पनि १०.६३ रुपैयाँबाट घटेर ४.८२ रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा बैंकको बेस रेट ५.१४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४६.२६ रुपैयाँ कायम रहेको छ।
हाल बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब १७ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्म २ खर्ब २१ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ३५ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यस अवधिसम्म बैंकको कुल सम्पत्ति ४ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ नाघेको छ।






Comment